बिर्तामोड । लिगलिडर चर्च ब्वाइज युनाइटेड पाँचौं मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । 

शनिबार सम्पन्न फाइनल खेलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको काँकरभिट्टाले नगद ५ लाखमा चित्त बुझायो ।

जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर अभिषेक गुरुङले पेनाल्टी एरियामा क्लियर गर्न नसकेको बललाई उनले फाइदा लिँदै गोल गरेका थिए । उनको त्यही गोल प्रतियोगिताको उपाधि दिलाउन निर्णायक बन्यो । 

खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद ११ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी आयोजकका खमिरगिल्सन कन्दङ्वा घोषित भए । उनले नगद ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद २१ हजार पाए । प्रतियोगिताको गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ भए । उनले नगद २१ हजार रुपैयाँ प्राप्त गरे । उदयीमान खेलाडीको अवार्ड आयोजकका पर्शु राई भए । उनले नगद १५ हजार प्राप्त गरे ।   

प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपीएफ एफसी, जर्जियन फुटबल क्लब भारत र  उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।