धनकुटा । धनकुटाको मदनचोकमा आयोजना गरिएको रङहरूको पर्व होली मनाउने क्रममा एक जनाको हात भाँचिएको छ । 

बिहीबार धनकुटाको मदनचोकमा द सेभेन युथ क्लब धनकुटा–७ र हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरेको होली विशेष कार्यक्रममा मट्का फुटाउने क्रममा अनियन्त्रित हुँदा लडेर धनकुटा–७ का २४ वर्षीय राम नेपालीको देब्रे हात भाँचिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य ७–८ जना युवाहरू आपसमा काँधमा काँध चढेर टाउको माथि झुण्ड्याइएको मट्का फुटाउनको लागि उचाइ बनाउँदा एक्कासि अनियन्त्रित भएर दुर्घटना भएको हो । नेपालीको प्राथमिक उपचार धनकुटा अस्पतालमा गरी अन्यत्र रेफर गरिएको हाम्रो बहुमुखी पाठशाला धनकुटाका सञ्चालक सोवित श्रेष्ठले जानकारी दिए ।