बिर्तामोड । सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर पाँचौँ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
सडनडेथमा काँकरभिट्टाका विदेशी खेलाडी फ्रेन्कलिन तालाले गोल गरे भने धरानका रोमन लिम्बूको प्रहार गोलरक्षक विवश चौधरीले बचाए । काँकरभिट्टाका अभिषेक गुरुङ, दिवस उराउ, निशान लिम्बू र विवेक गुरुङले गोल गरे भने हेमन्त लिम्बूको प्रहार बारमा लागेर फर्किएको थियो ।
धरानका मिलन राई, सबिन राई, प्रज्वल थापा, अजय विष्टको प्रहार गोल हुँदा सुगम जिमीको प्रहार बाहिरिएको थियो । निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित खेल अवधिभर १–१ गोल भए पछि टाइब्रेकरबाट नजिता निस्किएको हो ।
खेलको प्लेयर अफ द म्याच गोलरक्षक विवश चौधरी भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताभरिका प्लेयर अफ द म्याचको पुरस्कार व्यवसायी श्याम प्रसार्इं (एसपी)ले उपलब्ध गराएका हुन् । फाइनल खेलको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार र ट्रफी पाउँदा उच्च गोलकर्ताले नगद २५ हजार र ट्रफी पाउनेछन् ।