इटहरी । पूर्वका ग्यास डिलर व्यवसायीहरूले आयल निगमको नियमविपरीत मानवबस्ती नजिक भरिएका ग्यास सिलिण्डरहरू भण्डारण गर्दै आएका छन् । सरोकारवालाहरूले बजार अनुगमन गर्दा डिलरहरूले राजमार्गनजिक भण्डारण गरेको पाइएको हो । यसले उपभोक्ताहरूको सुरक्षा जोखिम बढेको छ ।
ग्यास डिलर व्यवसायीहरूले सिलिण्डर भण्डारण गर्नुपर्दा मानवबस्तीभन्दा टाढा सुरक्षित स्थानमा गर्नुपर्ने आयल निगमको प्रावधान छ । तर इटहरी, धरान, विराटनगर, बिर्तामोडलगायत पूर्वका मुख्य सहरहरूमा निगमको नियमविपरीत व्यवसायीहरूले सिलिन्डरहरू बजारभित्रै भण्डारण गर्दै आएका छन् । अन्य सहरको तुलनामा कोशी प्रदेशको केन्द्र मानिने इटहरीमा जोखिम बढ्दो छ ।
गत २०७७ साउन ९ गते इटहरी–६ स्थित सञ्जय भाँडा पसलमा ग्यास लिक भई विष्फोट हुँदा ४ जना घाइते भएका थिए । सेवाग्राहीले ल्याएको सिलिण्डरमा ग्यास भर्ने क्रममा अचानक विष्फोट हुँदा व्यवसायी चौधरीसहित ४ जना घाइते भएका थिए । जसमा उनका बुबा श्रीलाल चौधरी, श्रीमती आशा र दिदी ललितादेवी चौधरीसमेत घाइते भएका थिए । घटना अनुसन्धान गर्दै जाँदा चौधरीले सिलिन्डर भण्डारण गर्न नजान्दा क्षति हुन पुगेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
ग्यास लिक भएकै कारण इटहरीमा विगत तीन वर्षयता ६ वटा अप्रिय घटना भइसकेको इलाका प्रहरी कार्यालय इटहरीको विवरणमा उल्लेख छ । जसमा ३५ करोड बढी क्षति भएको र ५ जना घाइते भएको उल्लेख छ । इटहरीमा साना तथा ठूला गरी ६४ बढी ग्यास डिलरहरू रहेको प्रिमा ग्यास उद्योगका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । उनले ग्यास भण्डारणको नीति सम्बन्धित उद्योगहरूमा अनिवार्य लागू गरिए पनि डिलरहरूमा त्यति प्रभावकारी नभएको उल्लेख गरे ।
ग्यास बिक्री गर्नका लागि डिलरहरूलाई पठाउनुअघि नै सुरक्षित भण्डारणको विषयमा जानकारी गराइएको भए पनि अहिलेसम्म कार्यान्वयन नभएको घिमिरेले बताए । ग्यास भण्डारण गर्दा मानव बस्ती तथा बजारक्षेत्रबाट १ किलोमिटरको दूरीमा सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गरिनुपर्ने नियम रहेको भए पनि व्यवसायीहरूले यो नियम लागू नगरेको अध्यक्ष घिमिरेले बताए । ६४ भन्दा बढी डिलरहरूमा उद्योगबाट दैनिक १५ सयदेखि ३५ सय भरिएका सिलिन्डरहरू पुग्ने गरेको उनको भनाइ छ ।
इटहरीमा केही ग्यास डिलरहरूले घरभित्रै सिलिण्डर भण्डारण गर्दै आएका छन् । इटहरी–९ को सिद्धार्थ सप्लायर्स, इटहरी–४ भेटघाट चौकको श्रीग्यास डिलर, त्यस्तै इटहरी मुख्य बजारका सञ्जय भाँडा पसलले समेत घर भित्रै ग्यास भण्डारण गर्दै आएको छ । सिद्धार्थले ३० देखि ४० वटा विभिन्न कम्पनीका ग्यास सिलिन्डर भण्डारण गर्दै आएको छ । श्रीले दैनिक ८० वटासम्म सिलिन्डर भण्डारण गर्दै आएको छ ।
त्यस्तै इटहरीको सञ्जय भाँडा पसलले सरदर १ सय २० भन्दा बढी सिलिन्डर भण्डारण गर्दै आएको छ । इटहरी क्षेत्रका ग्यास डिलर सञ्चालकहरूसँग यसबारे जिज्ञासा राख्दा सुरक्षाको ग्यारेन्टी नभएको उल्लेख गरे । पर्याप्त जग्गा नहुनु, भएकाहरूसँग सहकार्य गर्न नसक्नु र भण्डारण गर्दा सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी नहुनुले यो समस्या देखिएको उनीहरूको भनाइ छ । विगत १४ वर्षदेखि ग्यास डिलरको रूपमा रहँदै आएका सञ्जय चौधरी अहिलेसम्म कुनै पनि उद्योगले भण्डारणको विषयमा केही जानकारी नगराएको बताए । अब जानकारी भए पनि आफूसँग भण्डारण गर्न आवश्यक पर्याप्त जग्गाजमिन नभएको बताए । तर यो विषयले सचेत गराएको उनले बताए ।
यता घरभित्रै र राजमार्ग क्षेत्रमा अव्यवस्थितरूपमा सिलिण्डर भण्डारण गर्दा भोलिका दिनमा के–कस्ता जोखिम उत्पन्न हुन सक्छ, त्यसको ज्ञान व्यापारीले पाएका छैनन् । यता अनुगमनको जिम्मा लिएको इटहरी स्थानीय सरकारका उपप्रमुख सङ्गीता चौधरीले यस विषयलाई गम्भीररूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘राजमार्ग क्षेत्रमा त्यसरी भरिएका सिलिन्डरहरू राख्नै नपाइने भन्ने हैन, दुईवटासम्म त हामीले पनि दिएका छौं तर भण्डारण नै गर्न भने पाइँदैन ।’ अनुगमनको क्रममा त्यस्तो पाइए सचेत गराइने उपप्रमुख चौधरीले बताइन् ।