विराटनगर । विराटनगरको खानेपानी संस्थानले वितरण गरेको धारामा लेदोसहितको धमिलो पानी आएपछि यहाँका स्थानीय विरोधमा उत्रिएका छन् । विराटनगर–४ का स्थानीय मङ्गलबार विरोधमा उत्रिएका हुन् ।
उनीहरूले स्वच्छ खानेपानी दिनुपर्नेलगायतको माग राख्दै विराटनगर–४ नम्बर वडा कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध जनाए । जनस्वास्थ्यलाई गम्भीर असर हुनेगरी धारामा लेदोसहितको धमिलो पानी आउन थालेपछि स्वच्छ खानेपानी वितरण गरिनुपर्ने माग राख्दै विरोधमा उत्रिएको स्थानीय त्रिलोचन गौतमले बताए । धारामा महिनौंदेखि लेदोसहितको धमिलो पानी आउन थालेपछि प्रयोग यहाँका स्थानीयले प्रयोग गर्न छोडेको उनले बताए ।
‘बारम्बार खानेपानी संस्थान र विराटनगर महानगरपालिकामा गुनासो राख्दा पनि स्वच्छ पिउने पानी नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो’ स्थानीय गौतमले भने, ‘अब हामी यस्तो फोहोर पानीको महसुल पनि तिर्र्दैनौं र निरन्तररूपमा खानेपानी संस्थान र महानगरविरुद्ध आन्दोलनमा उत्रिनेछौंं ।’
अहिले यहाँका स्थानीयले विकल्पको रूपमा चापाकलको पानी फिल्टर गरेर प्रयोग गर्दै आएका छन् । ‘धाराको पानी प्रयोग नगरेको महिनौं भयो । धारा खोल्यो कि धमिलो र लेदोसहितको पानी आउने गरेको छ । यस विषयमा हामीले खानेपानी वितरण गर्ने विराटनगरको देवकोटा चोकस्थित खानेपानी संस्थानका कार्यालय प्रमुखलाई पनि पटक पटक भनिसक्यौं । यहाँका स्थानीय कयौंपटक पानीको समस्यालाई लिएर डेलिगेसन पनि गयौं । तर, अहिलेसम्म खानेपानीमा कुनै सुधार भएको छैन’–आन्दोलनरत अर्का स्थानीय विराटनगर–४ का अर्जुन चूडालले भने ।
कञ्चनबारीमा फिल्टर विनाको बोरिङ जडान भएको छ । फिल्टर प्लान्ट नराख्दा लेदोसहितको धमिलो पानी आउने गरेको छ । खानेपानी संस्थानले फिल्टर प्लान्ट राख्नको लागि महानगरपालिकासँग जग्गा माग गरेको छ । तर, महानगरपालिकाले जग्गा उपलब्ध नगराइदिँदा प्लान्ट राख्न नसकिएको खानेपानी संस्थानले जनाएको छ । प्लान्ट नराखेको कारणले गर्दा विराटनगर–४ भित्र लेदोसहितको फोहोर पानी धारामा आउने गरेको हो । यहाँका करिब १ हजार बढी घरधुरीमा धमिलो पानी आउने गरेको स्थानीय उपभोक्ता बताउँछन् ।