विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ बबिया टोलमा तीन वर्षअघि शिलान्यास भई निर्माण भइरहेको १५ शøयाको अस्पताल भवन निर्माणको काम ठप्प भएको छ । धनपालथान गाउँपालिकाका अध्यक्ष जिबछप्रसाद गच्छदारले पुनः शिलान्यास गर्ने तयारी गरेपछि स्थानीय जनप्रतिनिधि र पालिका प्रमुखबीच विवाद उत्पन्न भई निर्माण कार्य एक महिनादेखि रोकिएको हो । 

गाउँपालिकाका अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरेको भन्दै वडाध्यक्ष गयानन्द सरदारले विरोध गरेका छन्  । जसको कारण एक महिनादेखि ठेकेदारले कामकाज ठप्प पारेर बसेका छन् । सङ्घीय सरकारको १३ करोड ५९ लाख रुपैयाँको लगानीमा अस्पतालको निर्माण भइरहेको छ । धनपालथान–४ का कर्णबहादुर राजवंशीको परिवारले दान दिएको १५ कठ्ठा जग्गामा यो अस्पताल निर्माणाधीन छ  । 

तत्कालीन गाउँपालिका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदारले २०७८ चैत १४ गते अस्पतालको शिलान्यास गरिसकेका थिए । त्यसपछि २०८० फागुन २० गते सम्झौता भएपछि गत भदौदेखि अस्पतालको औपचारिक निर्माण कार्य सुरु भएको छ  । भद्रपुरका निर्माण व्यवसायी कम्पनी बस्नेत पी एण्ड जेभीले दिएको जानकारीअनुसार हालसम्म अस्पतालको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको छ  ।

कम्पाउण्ड वाल र साढे २ तले अस्पताल भवनको बेसमेन्टसमेत तयार भइसकेको अवस्थामा दोहोरो शिलान्यासको चर्चा चल्न थालेपछि विवाद सुरु भएको हो । २०७९ को स्थानीय निर्वाचनबाट उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदार पुनः उही पदमा निर्वाचित भएका छन् भने गाउँपालिका अध्यक्षमा काङ्ग्रेसका जिबछप्रसाद गच्छदार निर्वाचित भएका छन् । नयाँ अध्यक्ष गच्छदारले निर्माणाधीन अस्पतालको पुनः शिलान्यासको तयारी गरेपछि वडाध्यक्ष सरदार र पालिका प्रमुखबीच विवाद बढेको छ ।

वडाध्यक्ष सरदारका अनुसार गच्छदारले दोहोरो शिलान्यास गरी अस्पताल निर्माणको श्रेय आफूले लिन जनतामा भ्रम छर्ने प्रयास गरिरहेका छन् । ‘सरकारले एक पालिका एक अस्पतालको नीति ल्याएपछि आफ्नै वडामा अस्पताल निर्माण गराउन दातासँग निकै परिश्रम र अनुनयविनय गरेर जग्गा प्राप्त गरेको थिएँ’ वडाध्यक्ष सरदारले भने, ‘मैले समेत सहभागी भएर शिलान्यास गरेको अस्पतालको पालिका प्रमुखले फेरि शिलान्यास गर्ने तयारी गरेका छन्, यो अनुचित हो ।’ स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकाले दोहोरो शिलान्यास गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

‘एक पटक शिलान्यास भएपछि फेरि पालिका अध्यक्षले पुनः शिलान्यास गर्छु भन्नु जग हँसाउने मेलो हो । यसो गर्नु हँुदैन । बरु हस्पिटलको भवन बनाएर उद्घाटन आफै गरे भयो नि । त्यसतर्फ ध्यान नदिएर अध्यक्षको निर्देशनमा अहिले निर्माण कार्य ठप्प बनाइएको छ । यो अध्यक्षको गैर जिम्मेवारीपन हो’–वडाध्यक्ष सरदारले भने । यस विषयमा प्रतिक्रिया माग्दा पालिका प्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताएका छन् । ‘पालिकाकै ठूलो प्रोजेक्टको रूपमा अस्पतालको निर्माण सुरु भएकाले सामान्य पूजापाठ गर्न लागिएको हो’–उनले भने । तर असन्तुष्ट पक्षका अनुसार, गाउँपालिका अध्यक्ष गच्छदार र उपाध्यक्ष नसिमा बानुले निर्माण व्यवसायीलाई काम सम्पन्न गरेअनुसार बिलको भुक्तानी दिनसमेत आलटाल गरेका छन् । अनुगमन गर्न बाँकी रहेको भन्दै भुक्तानी नदिएपछि एक महिनायता निर्माण व्यवसायीले निर्माण कार्यसमेत रोकेको जनाइएको छ । 

अस्पताल निर्माणमा उत्पन्न विवादले स्थानीय बासिन्दालाई भने चिन्तित तुल्याएको छ । धनपालथान क्षेत्रका बासिन्दाले वर्षौंदेखि स्वास्थ्य सेवाको पहुँचका लागि सङ्घर्ष गर्दै आएका छन् । ‘हामीले अस्पतालको लागि जग्गादान ग¥यौं, तर राजनीतिक स्वार्थका कारण अस्पताल निर्माण प्रभावित हुँदै गएको छ’–स्थानीय बासिन्दा रामनारायण राजवंशीले भने  । अर्का स्थानीय राजेन्द्र मण्डलले भने, ‘राजनीतिक स्वार्थका लागि विकास रोकिनु हुँदैन । जनप्रतिनिधिहरू जनताको स्वास्थ्य सेवाभन्दा आफ्नो श्रेय लिने होडबाजीमा छन्, यो दुःखद् कुरा हो  ।’

धनपालथान गाउँपालिकाका अधिकांश बासिन्दाहरू विराटनगरसम्म स्वास्थ्य सेवाका लागि जानुपर्ने बाध्यता छ । स्थानीयस्तरमा अस्पताल निर्माण भएपछि यहाँका हजारौं बासिन्दाले सहज स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन् । ‘अस्पताल जनताको आवश्यकता हो, नेताहरूको राजनीतिक खेलौना होइन । निर्माणाधीन संरचनाको पुनः शिलान्यास गर्नुभन्दा यसलाई तत्काल सम्पन्न गर्ने तर्फ ध्यान दिनुपर्छ’–मण्डलले भने । यहाँका स्थानीयले गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको विवाद मिलाएर अस्पताल निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन्  । “जनप्रतिनिधिहरूले एकापसमा समन्वय गरी निर्माण कार्य सम्पन्न गर्नुपर्छ’’ स्थानीय दिनेश मण्डलले भने, ‘अस्पताल निर्माण जनताको हित र विकासको लागि हो, कुनै राजनीतिक दलको उपलब्धि हासिल गर्ने माध्यम होइन ।’ स्थानीय जनताको स्वास्थ्य सेवाको आवश्यकतालाई मध्यनजर गर्दै निर्माण प्रक्रिया अघि बढाउनु आवश्यक देखिन्छ । राजनीतिक स्वार्थका कारण जनहितको महŒवपूर्ण परियोजना प्रभावित हुनु दुःखद् भएको उनले बताए । सम्बन्धित निकायहरूले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

निर्माण कम्पनी बस्नेत पी एण्ड जेभीका प्रबन्ध निर्देशक विनोद बस्नेतले भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको बताए । ‘हामीले लगभग ३ करोड बराबरको काम सकेका छौं, तर अहिलेसम्म १ करोड मात्रै भुक्तानी पाएका छौं’ उनले भने, ‘पालिकाले अनुगमनमा ढिलाइ गर्दा भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ । यस्तै अवस्था रहे तोकिएको समयमा अस्पताल निर्माण सम्पन्न गर्न कठिन हुनेछ ।’ निर्माण कम्पनीलाई अस्पताल निर्माण २०८३ असार मसान्तसम्ममा सक्ने गरी ठेक्का दिइएको छ ।