भद्रपुर । आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको गन्तव्य बनाउने उद्देश्य राखेर करिब छ वर्षअघि काँकरभिट्टामा निर्माण सुरु गरिएको भ्यूटावर अलपत्र परेको छ ।
झापाको सीमावर्ती काँकरभिट्टाको डाँडामा निर्माण सुरु गरिएको टावर परियोजना (स्टिमेट)मा त्रुटि देखिएपछि निर्माणाधीन अवस्थामै अलपत्र परेको हो । भ्यूटावर निर्माणस्थलबाट सीमावर्ती दशगजा क्षेत्र करिब ५ सय मिटर मात्रै पूर्व पर्छ । सिमानाको डाँडामा उभिएर मानिसलाई नेपाल र भारतको भू–भाग देखाउने उद्देश्यका साथ निर्माण थालिएको भ्यूटावर अलपत्र परेपछि समस्या देखिएको छ ।
सीमावर्ती सहरमा टावर बन्ने भएपछि आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणले व्यवसाय फस्टाउने व्यवसायीहरूको आशा पनि निराशामा परिणत भएको व्यवसायीहरू बताउँछन् । निर्माण सुरु भएर भ्यूटावरको निर्माण कार्य जमिन तहमा आइपुगेपछि रोकिएको छ । संरचनाको अधिकांश सामग्री चोरी भएको स्थानीयको भनाइ छ । निर्माण कार्यलाई निरन्तरता दिइनुपर्ने झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष नीरकुमार कार्की (नेत्र) बताउँछन् । काँकरभिट्टा आइपुगेका यात्रुहरूलाई पर्यटनको नयाँ आयाम थपिने अपेक्षा भए पनि अलपत्र टावरले गिज्याइरहेको उनको भनाइ छ । प्रयोग गरिएका रडहरू समेतमा खिया लागिसकेको उनले सुनाए । सम्बन्धित निकायले यस विषयमा विशेष चासो राखेर अघि बढ्नुपर्ने उनको सुझाव छ ।
तत्कालीन कोशी प्रदेश सरकारको ७० प्रतिशत र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागत रहने गरी करिब ५ करोड रुपैयाँमा निर्माण सम्झौता भएको भ्यूटावरको झापाको कन्काई इन्टरनेश्नल विल्डर्स प्रा.लि.ले ठेक्का पाएको थियो । तर, स्रोत सुनिश्चित नहुँदा रकम अभाव तथा स्टिमेटमा भएको त्रुिटका कारण १० प्रतिशत मात्रै काम सम्पन्न भएर निर्माण कार्य रोकिएको बताइएको छ ।
ठेकेदार कम्पनीले एक करोड रुपैयाँ रकम पेस्कीका रूपमा लगिसकेको छ । परियोजना मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्यको कार्यकालमा सुरु भएको हो । हाल नगरमा गोपालचन्द्र बुढाथोकीको नेतृत्व छ । निवर्तमान नगरप्रमुख आचार्यले स्टिमेटमा भएको त्रुटि सच्याएर नगर र प्रदेश सरकारले विशेष चासो राख्ने हो भने भ्यूटावर निर्माणले गति लिनसक्ने बताए ।
प्रदेश सरकार र नगरको ७०–३० प्रतिशतको परियोजना हो । स्टिमेटका क्रममा प्राविधिक त्रुटि भएको थियो । यद्यपि त्रुटि नगरले आवश्यक पहल गरेर सच्याउन सक्छ । नगर र प्रदेश सरकारले नियमित बजेट छुट्याएर अघि बढ्ने हो भने भ्यूटावर बन्ने आचार्य बताउँछन् ।भ्यूटावर निर्माणको स्टिमेटमै त्रुिट भएका कारण निर्माण कार्य रोकिएको नगरका प्रवक्ता दीपक बराल बताउँछन् ।
स्टिमेटमा भएको त्रुटि सच्याउन राष्ट्रिय सतर्कता केन्द्रमा औपचारिक पत्र पठाइएकोले सच्चिएर आएपछि आवश्यक स्रोत सुनिश्चित गर्दै निर्माण कार्य अघि बढाउने नगरको योजना रहेको उनले बताए । टावरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) गर्दा एक भाग नै छुटेपछि समस्या आएको नगरका पूर्वाधार शाखा प्रमुख अनन्तप्रकाश वस्तीले बताए । स्टिमेटमा भएको त्रुटि सच्याउन राष्ट्रिय सतर्कता केन्द्रमा औपचारिक पत्र पठाइएकोले अब स्थलगत प्राविधिक अनुगमन गरेपछि मात्र टुङ्गोमा पुगिने उनले जनाए ।
कन्काई इन्टरनेशनल विल्डर्स प्रा.लि. झापाले २०७७ मङ्सिर २९ गते सम्झौता गरेको उनले जानकारी दिए । टावरको डिपीआर स्मार्ट इन्जिनियरिङ एन्ड सोलुसन प्रा.लि. काठमाडौँले गरेको उनले बताए । प्रदेशले बहुवर्षे योजनामा राखेर रकम नदिएपछि दोहोरो असर योजना परेको उनले जानकारी दिए । त्रुटि सच्चिएर आएपछि आवश्यक समन्वय गरेर रोकिएको निर्माण कार्य अघि बढ्ने उनले आश्वासन दिए ।