भद्रपुर । झापा कनकाई नगरपालिकामा एक युवकले प्रेमिकाले धोका दिएको भन्दै आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
बिहीबार दिउँसो १२.२५ बजे कनकाई नगरपालिका–४ स्थित कोटीहोमनजिक सुनसरी इनरुवा–९ बलाह बस्ने १९ वर्षीय मिकेश चौधरीले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयले देखेर प्रहरीलाई खबर गरेपश्चात् उद्धार गरी उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
विगत ३–४ दिनदेखि बिर्तामोड–४ स्थित सोफा हाउसमा काम गर्दै आएका चौधरी कोटीहोम दक्षिणपट्टिको सडकमा आफ्नी प्रेमिकाँंग हिँड्दै गर्दा उनीहरूबीच विवाद भएको थियो । विवादका क्रममा चौधरीले आफ्नी प्रेमिका र आफूमाथि पेट्रोल छर्केका थिए । सँगै आत्मदाह गर्ने कोशिस गर्दा प्रेमिकाले भागेर ज्यान जोगाएकी छन् भने उनले आफ्नो शरीरमा आगो सल्काएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटनापछि चौधरी थरकी ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको उनले जनाए । घाइतेको दुवै हात र पिसाब थैलीको केही भाग, कम्मरको भाग र दुवै कानसहित शरीरको आधा भाग जलेको प्रहरीले जनाएको छ ।