भद्रपुर । झापाको जलथल जङ्गलमा जङ्गली हात्ती सडेगलेको अवस्थामा फेला परेको छ ।
बुधबार साँझ कचनकवल–७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेर दुर्गन्धित अवस्थामा फेला परेको थियो । ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि कोही पनि जान सकेका थिएनन् ।
बिहीबार बिहान डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । हात्तीको दाह्राको टुप्पो काटिएको छ । त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल–७ का वडासदस्य शेरबहादुर थेबेले बताए ।
गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए । यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ । मानिस र हात्तीबीचको द्वन्द्व झापामा निरन्तर छ ।