धरान । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको ग्रेटर नोएडामा आयोजना गरिएको ‘राष्ट्र शक्ति शिखर सम्मेलन’ मा नेपालकी प्रतिभाशाली गायिका मिलन नेवारलाई ‘स्वर कोकिला लता मङ्गेशकर सम्मान २०२५’ ले सम्मानित गरिएको छ ।
सङ्गीतक्षेत्रमा उनले नेपाल र भारतमा समेत पु¥याएको उत्कृष्ट योगदानको लागि यो सम्मान प्रदान गरिएको हो । सम्पर्क क्रान्ति परिवारद्वारा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूलाई ‘राष्ट्र शक्ति शिरोमणि सम्मान’, ‘राष्ट्र तेजश्विनी सम्मान’, ‘राष्ट्र यशश्विनी सम्मान’ लगायत अन्य प्रतिष्ठित सम्मानहरू प्रदान गरिएको थियो ।
कार्यक्रममा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सुरक्षा र स्वावलम्बनजस्ता विषयहरूमा गम्भीर छलफलसमेत भएको थियो । नेपालबाट सम्मान ग्रहण गर्न उपस्थित मिलन नेवारले आफ्नो सम्मानलाई नेपाली सङ्गीत र संस्कृतिको प्रतिनिधित्व गर्ने अवसरको रूपमा लिएको बताइन् ।
उनले नेपाली भाषाबाहेक अन्य १० भन्दा बढी भाषामा सयौं गीतमा आवाज दिएकी छिन् ।