धरान । वीर गोर्खाहरूको सम्मानमा तेस्रो पटक धरानमा आयोजित गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बू र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा विजयी भएका छन् ।
शनिबार गोर्खा सिमेट्रिज ट्रष्ट नेपालले आयोजना गरेको प्रतियोगितामा सुरजले ३४ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरे । पहिला विजेता शेर्माले ४५ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै प्रथम भएकी थिइन् । जितसँगै उनीहरूले नगद २०–२० हजार र मेडल, प्रमाण–पत्र पाए । योसँगै उनीहरूलाई सन् २०२६ मा हङ्कङमा आयोजना हुने गोर्खा ट्रेल रनमा भाग लिने अवसर पाउने आयोजकले जनाएको छ ।
पुरुषतर्फ दोस्रो स्थान हासिल गर्ने ओशन राईले ३६ मिनेट २ सेकेन्डमा दौड पूरा गरे भने तेस्रो हुने स्काई लिम्बूले ३६ मिनेट ३८ सेकेन्डमा दौड पूरा गरे । महिलातर्फ दोस्रो स्थान हुने दीपा बस्नेतले ४७ मिनेट ४४ सेकेन्डमा र तेस्रो हुने इन्द्रकला नेम्वाङ निक्कीले ४८ मिनेट ४२ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूले क्रमशः नगद १० हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे ।
भेट्रान पुरुषतर्फ विजयकुमार राई पहिलो, मङ्गल तामाङ दोस्रो र राजु तामाङ तेस्रो भए । भेट्रान महिलातर्फ जमुना लिम्बू पहिलो र कुसुम लिम्बू दोस्रो घोषित भए ।
विजेता धावकहरूलाई सिमेट्रिका अध्यक्ष महेन्द्र राई, १८ नं. वडाका वडाध्यक्ष प्रवीणकुमार राईलगायतले पुरस्कार मेडल तथा प्रमाण–पत्र वितरण गरेका थिए । जीवित वीर गोर्खा सैनिकहरूको सम्मानमा आयोजना हुँदै आएको यो प्रतियोगिता धरान–१८ को रत्न चौकबाट सुरु भई मङ्गलबारे, सर्दू पुल, भञ्ज्याङ हुँदै गोर्खा स्मृति पार्कमा समापन भएको थियो । प्रतियोगितामा सुनसरी, झापा, मोरङ, उदयपुर, भोजपुर, तेह्रथुम, पाँचथर, धनकुटा, काठमाडौंलगायत स्थानबाट ७ सयभन्दा बढी धावकहरूको सहभागिता रहेको थियो ।
अतिथि धावकका रूपमा एकजना केन्याली धावकसमेत सहभागी भएका थिए । सोही अवसरमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुङ्गाका १ सय २ वर्षीय पूर्व ब्रिटिस गोर्खा सैनिक दलबहादुर राई र धरान–१८ रत्न चौक निवासी पूर्व ब्रिटिस गोर्खा सैनिक रत्नमानकी श्रीमती रामकुमारी राई र सेभेन जिआरका पूर्व गोर्खा सैनिक कृष्णदेव राईलाई सम्मान गरिएको थियो ।