विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आज (आइतबार) देखि विराटनगरमा सुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
उद्घाटन खेलमा सप्तरीको प्रगतिशील युवा क्लब फत्तेपुर र उदयपुरको फ्युजन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ । चैत १० गतेसम्म चल्ने यस प्रतियोगिताको आयोजनाका लागि १५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।
विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ हासिल गर्नेछ । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथै, विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।
गतवर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो । यस वर्षको प्रतियोगिताले पूर्वी नेपालमा फुटबलको स्तर उकास्न र स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्ने ट्रष्टका अध्यक्ष डङ्गोलले बताए ।
प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने र व्यावसायिक फुटबलमा आफ्नो पहिचान बनाउने अवसर प्रदान गर्ने उनको भनाइ छ । प्रतियोगिताको औपचारिक उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालामार्फत् हुने जानकारी आयोजकले दिएको छ ।