सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई सो बमोजिम २०६७ साल चैत्र ७ गते भएको हो । यस ऐनले स्थापनाकालदेखि सामाजिक सुरक्षा कोषको व्यवस्थापन गर्दै आएकोमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ जारी भएपछि सो ऐन बमोजिम कार्य गर्दै आएको छ । ऐनको प्रस्तावनामा उल्लेखित श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु यस कोषका मुख्य उद्देश्य रहेका छन् ।
सबै नेपाली श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्दै सामाजिक सुरक्षाको अवधारणालाई मूर्तरूप दिन तथा योगदानमा आधारित सामाजिक सुरक्षाको संविधानद्वारा प्रदत्त हकलाई सुनिश्चित गर्ने तर्फ सामाजिक सुरक्षा कोषका कार्यक्रमहरू लक्षित छन् ।
सामाजिक सुरक्षा कोष अन्तर्गतका सामाजिक सुरक्षा योजनालाई अर्थतन्त्रका औपचारिक क्षेत्रका अतिरिक्त अनौपचारिक तथा स्वरोजगार र वैदेशिक रोजगारीका क्षेत्रमा समेत विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै यस प्रणालीलाई तुलनात्मक रूपमा समान र समाजवाद उन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि सामाजिक सुरक्षा कोष प्रतिबद्ध रहेको छ ।
सामाजिक सुरक्षा कोष क्ष्ीइ अभिसन्धी १०२ का योजना अन्तर्गत कार्यान्वयनमा आएको हो । हाम्रो देश नेपालसमेत अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको सदस्य भएको हुँदा अन्तर्राष्ट्रिय श्रमिक सङ्गठन को उक्त अभिसन्धी १०२ लागू गर्न बाध्य हुन्छ । अभिसन्धी १०२ अन्तर्राष्ट्रियरूपमा ४ जुन १९५२ देखि कार्यान्वयनमा आएको हो । यो अभिसन्धी लागू गर्न नेपाललाई ७२ वर्ष लाग्यो । अझै यसको पूर्ण कार्यान्वयनमा जान छोडेर देशका ठूला राजनीतिक शक्तिहरू यसको क्रेडिट लिनेतर्फ लागिरहेका छन् । अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनले नितान्त श्रमिकको हितको निम्ति मात्र काम गर्दछ, त्यसकारण यो अभिसन्धीले निर्धारण गरेको कुरामा हामी सशङ्कित हुनु पर्दैन । जसले यो सामाजिक सुरक्षा कोषलाई पूर्णरूपमा कार्यान्वयनमा लैजानलाई हिच्किचाइरहेका छन् । हामी उनीहरूप्रति सशङ्कित बन्नु पर्दछ । प्रवासिएका प्रत्येक नेपाली श्रमिकले नेपालका ठूला राजनैतिक शक्तिलाई ‘किन श्रमिकको हित नचाहेका ?’ भनेर प्रश्न गर्न सक्नु पर्दछ ।
अन्तर्राष्ट्रिय श्रमिक सङ्गठनको १०२ नम्बर अभिसन्धीअनुसार हेर्ने हो भने हाम्रो सामाजिक सुरक्षा कोषले न्यूनतम् रूपमा स्वास्थ्य सुरक्षासम्बन्धी सुविधा, बिरामी हुँदा प्राप्त गर्ने सुविधा, बेरोजगारीको अवस्थामा प्राप्त हुने सुविधा, वृद्धावस्था सुरक्षा योजना, काम गर्दाको समयमा चोट लागेको अवस्थामा प्राप्त हुने सुविधा, आश्रित परिवार सुरक्षा योजना, महिला श्रमिकका निमित्त प्राप्त हुने प्रसूति अवस्थाको सुविधा, अवैधताको अवस्थामा प्राप्त हुने सुविधा, न्यूनतम् रूपमा बाँच्नको निमित्त प्राप्त हुने सुविधासमेतलाई आफ्ना योजनामा समेट्नु पर्ने देखिन्छ । अहिले को अवस्थामा नेपाली श्रमिकका निम्ति सामाजिक सुरक्षा कोषले तीनवटा योजनाहरू सञ्चालनमा ल्याएको छ । जस अन्तर्गत दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्धावस्था सुरक्षा योजना समावेश छन् ।
वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकको लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा योजना सञ्चालन गर्न सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ साल मङ्सिर २५ गते सम्बन्धित मन्त्रालयबाट प्रमाणित भई सञ्चालनमा आएसँगै प्रवासमा रहेका नेपाली श्रमिकको निमित्त यो योजना अनिवार्य भएको हो । आर्थिक वर्ष २०७९/०८० मा रोजगारीको निम्ति विदेशिने नेपालीको सङ्ख्या ७ लाख ७१ हजारभन्दा बढी भएको विभिन्न माध्यमका तथ्याङ्कहरूले देखाएका छन् । यस आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार जना नेपाली श्रमिक श्रम स्वीकृति लिएर नेपालबाहिर गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले जनाएको छ । यसरी विदेशिने नेपाली श्रमिकहरूको मुख्य गन्तव्य थलोहरूमध्ये मध्यपूर्वका अरब देश तथा दक्षिण कोरिया, क्रोएसिया, पोल्यान्ड, रोमानियालगायतका देशहरू छन् । नेपालभित्रै बसेर दैनिक जीवनयापन गर्न कठिन बन्दै गएपछि यसरी विदेशिनेको सङ््ख्याले नयाँ कीर्तिमान बनाउँदै गएको अवस्था छ । समग्ररूपमा यसरी विदेशमा गएर श्रम गर्ने सबै नेपाली श्रमिकको न्यूनतम् सामाजिक सुरक्षालाई यस कोषले सुरक्षित राख्ने प्रावधान गरेको छ ।
सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आउनु अगाडि श्रमिकका सामाजिक सुरक्षाका निमित्त कतैतिरबाट सम्बोधन नगरिएको कारण समग्र स्वदेशमा रहेका तथा प्रवासमा भएका नेपाली श्रमिकहरू सामाजिक तथा आर्थिक रूपमा असुरक्षित थिए । श्रमिकका न्युनतम् सामाजिक सुरक्षा सम्बन्धी अधिकारहरूको सुरक्षा हुने व्यवस्था यस कोषले गरेको छ । विदेशमा भएका नेपाली श्रमिकका निमित्त ल्याइएको यस कोष अन्तर्गतका तीनवटा (दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना तथा वृद्धावस्था सुरक्षा योजना) योजनाहरू मार्फत् प्रवासमा भएका नेपाली श्रमिकहरूले लाभ लिन सक्दछन् ।
वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नेपाली श्रमिकहरूले नेपाल सरकारले समय–समयमा औद्योगिक क्षेत्रका लागि तोकिदिएको न्युनतम् आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशतदेखि यसको तीनगुणासम्म योगदान गर्न सक्ने व्यवस्था यस कोषको कार्यविधि २०७९ ले गरेको छ । अहिलेको सन्दर्भमा नेपाल सरकारले आधारभूत न्यूनतम् पारिश्रमिक १० हजार ८ सय २० नेपाली रुपैयाँ तोकेको छ । दुर्घटना र अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजनामा जम्मा हुन्छ भने बाँकी रहेको १३.८५ प्रतिशत (१ हजार ४ सय ९९ नेपाली रुपैयाँ) वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुन्छ । वृद्धावस्था सुरक्षा योजना अन्तर्गत निवृत्तिभरण सुविधा तथा अवकास सुविधा गरी दुईवटा सुरक्षा योजना संलग्न रहने व्यवस्था समेत यसको कार्यविधिले गरेको छ ।
न्यूनतम्भन्दा बाहेकको रकम कोषमा जम्मा गरेको खण्डमा योगदानकर्ताले चाहेमा उक्त अतिरिक्त रकमलाई अवकास सुविधा योजनामा निवेदन दिएर परिवर्तन गर्न सकिने व्यवस्था छ । योगदान गर्नको निमित्त तोकिएको न्यूनतम् रकमका अतिरिक्त जम्मा गरेको रकमलाई योगदानकर्ताले जुनसुकै अवस्थामा कोषबाट निकाल्न सक्ने व्यवस्था कोषको कार्यविधि २०७९ ले गरेको छ ।
सामाजिक सुरक्षा कोष अन्तर्गतको एउटा अङ्ग सामाजिक बिमा कोषमा जम्मा भएको रकम (१० हजार ८ सय २० को ७.४८ प्रतिशत) प्रत्येक महिना बिमा भुक्तानीमा खर्च हुने भएकोले उक्त रकम बाँकीका योजनाहरूमा जोडिँदैन । वृद्धावस्था सुरक्षा योजना अन्तर्गतको व्यक्तिगत कोषमा पेन्सनको निमित्त जम्मा भएको न्यूनतम् रकम १ हजार ४ सय ९९ नेपाली रुपैयाँ योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएपछि सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कूल योगलाई १ सय ६० अङ्कले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना योगदानकर्ताले जीवनकालभर प्राप्त गर्नेछन् । यस्तो निवृत्तिभरण प्रत्येक तीन वर्षमा मुद्रास्फीतिसँगै समायोजन हुँदै जाने व्यवस्था कोषको कार्यविधिले गरेको छ ।
७.४८ प्रतिशत अन्तर्गत योगदान गरिएको रकमद्वारा प्राप्त हुने सुविधाहरू यस प्रकार छन्ः
१. दुर्घटना उपचार खर्च वार्षिक १ लाख सम्म
२. अशक्तता पेन्सनः मासिक न्यूनतम् आधारभूत पारिश्रमिक १० हजार ८ सय २० को ६० प्रतिशत तथा कोषको सञ्चालक समितिले निर्धारण गरेबमोजिमको दरले हरेक तीन वर्षमा मुद्रास्फीति समायोजन हुँदै जाने रकम मासिक रूपमा प्राप्त हुनेछ । यसको निम्ति कम्तिमा १२ महिनामा ९ महिनाको रकम योगदान गरेको हुनुपर्नेछ ।
३. आश्रित श्रीमान् र श्रीमतीलाई आजीवन पेन्सनः न्यूनतम् आधारभूत पारिश्रमिकको ४० प्रतिशतसम्म कोषले प्रदान गर्नेछ ।
४. सन्ततीको लागि २१ वर्षसम्म शैक्षिक वृत्ति, फरक क्षमताको हकमा उमेरको हक नलाग्ने, यसको निमित्त १२ महिनामा ९ महिनाको रकम योगदान गरेको हुनु पर्नेछ ।
१३.८५ प्रतिशत अन्तर्गत योगदान गरिएको रकम द्वारा प्राप्त हुने सुविधाहरू यस प्रकार छन्ः
१. वैदेशिक रोजगारको समय अवधि सकिएपछि अवकाश बचत योजनाको एकमुष्ठ रकम निकाल्न पाइने ।
२. १ सय ८० महिनाको (१५ वर्ष) योगदान रकम जम्मा भै योगदानकर्ताको उमेर ६० वर्ष भै सकेपछि पेन्सन सुविधा हुनेछ ।
पछिल्लो १२ महिनामा कम्तिमा ९ महिना योगदान गरेको प्रवासमा रहेका नेपाली श्रमिकको दुर्घटना भएको अवस्थामा कोषले तोकेको अस्पतालमार्फत् वार्षिकरूपमा एक लाख नेपाली रुपैयाँ कोषले व्यहोर्ने व्यवस्था सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ले गरेको छ । यसका साथै दुर्घटनाको कारण अस्थायी पूर्ण असक्षम भएमा काममा नफर्केसम्म नेपाल सरकारले तोकेको न्यूनतम् आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम प्राप्त गर्न सक्ने व्यवस्थासमेत कोषले गरेको छ । यसरी कम्तिमा १२ महिनामा ९ महिना योगदान गरेको श्रमिकको दुर्घटनाको कारण स्थायीरूपमा अशक्त भएमा अशक्तताको अनुपातमा नेपाल सरकारले तोकेको न्यूनतम् आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन असक्षमता पेन्सन पाउने ग्यारेन्टी कोषले गरेको छ ।
आश्रित परिवार सुरक्षा योजना अन्तर्गत योगदानकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम प्रतिफलसहित फिर्ता हुनेछ । आश्रितलाई नेपाल सरकारले तोकेको न्यूनतम् आधारभूत पारिश्रमिकको ४० प्रतिशत प्रतिमहिना पेन्सन दिने व्यवस्था कोषले गरेको छ । मृत्यु भएका योगदानकर्ताको बालबच्चालाई आधारभूत पारिश्रमिकको ४० प्रतिशत शैक्षिक वृत्तिको निमित्त तथा मृतकको अन्तिम संस्कार बापतको तोकिएको खर्चसमेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ ।
प्रवासमा रहेका नेपाली श्रमिक आफ्ना पाखुरी चलुन्जेल श्रम गर्दै पसिना बगाएर स्वाभिमानको जिन्दगी जिउँछन् भने वृद्धावस्थामा समेत कोषमा आफूले योगदान गरेको रकमबाट कसैको आश्रय वा भरमा नपरी बाँकी जीवन आनन्दले बिताउन सक्छन् । दुर्घटनामा परेर अशक्त हुँदा तोकिएको अस्पतालमार्फत् वार्षिकरूपमा एक लाख नेपाली रुपैयाँसम्मको कोषमार्फत् निःशुल्क उपचार गराउन पाउनेछन् ।
यस कोषले प्रवासमा रहेका नेपाली श्रमिकको न्यूनतम् आर्थिक सुरक्षा प्रदान गरेको छ । प्रवासी नेपाली श्रमिकहरूले यस कोषमा नियमित रूपमा योगदान गरेको खण्डमा आफ्नो खातामा सञ्चित भएको रकमबाट विभिन्न किसिमका आर्थिक समस्याहरू सजिलै निराकरण गर्न सक्नेछन् । सामाजिक सुरक्षा कोषले प्रवासी नेपाली श्रमिकहरूलाई आर्थिक सुरक्षा प्रदान गर्नुको साथै उनीहरूको योगदानले उनीहरूलाई समृद्धि र न्यूनतम् आर्थिक सुरक्षासमेत प्रदान गरेको छ ।
यस कोषको सुरुवाती कार्यान्वयनका सन्दर्भमा धेरै चुनौतीहरू आएका भए तापनि ती चुनौतीहरूको सामना गर्दै कोष आफ्नो योजनामा द्रूत गतिमा अगाडि बढिरहेको छ । कोषले केही सुविधा सन्दर्भमा प्रवासमा रहेका नेपाली श्रमिक र स्वदेशमा रहेका नेपाली श्रमिकबीचमा विभेदको खाडल निर्माण गरे तापनि आगामी दिनमा सामाजिक सुरक्षा कोष सबै किसिमका नेपाली श्रमिकहरूका निमित्त समान तथा न्यायिक सुविधा प्रदान गर्न सफल होस् । यस कोषको सफलता हामी सम्पूर्ण नेपाली श्रमिकहरूको सफलता हो । हामी सम्पूर्ण प्रवासी नेपाली श्रमिक यस योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सफलताको निमित्त हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।