सुनसरी । मधेस प्रदेशको सप्तरी जिल्लामा अवस्थित राजविराज भन्सार कार्यालय विगत ४ महिनादेखि कर्मचारीविहीन अवस्थामा छ ।
गत भदौ महिनामा भन्सार विभागले नियमित सरुवाअनुसार राजविराज भन्सार कार्यालयमा रहेका १ जना नायव सुब्बाबाहेक अन्य सबै कर्मचारीको सरुवा गरेपनि उनीहरूको स्थानमा अन्य कर्मचारी पठाएको छैन । एकजना भन्सार अधिकृत र ६ जना नायव सुब्बाको दरबन्दी रहेको उक्त कार्यालय हाल एक जना नायव सुब्वाको भरमा चलिरहेको पाइएको छ ।
सामान्यतयाः सरुवा भएको कार्यालयमा २ वर्ष कामकाज गर्नुपर्नेमा राजविराज भन्सारमा कार्यरत भन्सार अधिकृत दीपेन्द्र झाको १ वर्षमै सरुवा भएको थियो । ‘भन्सार अधिकृत मुद्दा हेर्ने अधिकारीसमेत हुने कानूनी प्रावधान भए पनि भन्सार अधिकृत नै नभएपछि चाँडै सड्ने वा उपभोग अवधि सकिने मालसामानसमेत लिलाम बिक्री हुन सकेका छैनन्’–भन्सार विभागका एक कर्मचारीले भने ।
‘२०७२ सालदेखि नै अवैध पैठारी वा निर्यातमा प्रयोग भएका सबै प्रकारका ढुवानी तथा सवारी साधन गोदाममा राख्ने ठाउँ पनि छैन’ ती कर्मचारीले भने, ‘त्यसैले भन्सार यार्डमा यत्रतत्र अव्यवस्थितरूपमा छरपष्ट राखिएका छन् ।
उत्पादन वर्षको आधारमा ह्रास कट्टी गरी यस्ता साधनहरूको लिलाम बिक्रि मूल्य कायम हुन्छ । तर, समयमै लिलाम हुन नसक्दा यी साधनहरूको एकातिर मूल्य घटिरहेको छ भने अर्कोतर्फ प्रयोग अवधि सकिएर कवाडीमा लिलाम गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ । भन्सारमा रहेका सवारीसाधन तथा अन्य सामग्री लिलाम गरेर राज्यलाई करोडौं आम्दानी हुने अवस्था भए पनि कर्मचारी अभावका कारण कौडीमा परिणत हुँदै गएको स्थानीय बताउँछन् ।
गत भदौमा भएको सरुवामा विराटनगर, वीरगञ्ज, भैरहवा, वीरगञ्ज सुख्खा बन्दरगाह, कैलाली, नेपालगञ्ज, सर्लाही, सुनसरीलगायतका भन्सार कार्यालयहरूमा दरबन्दीभन्दा बढी ५ देखि २० जनासम्म नायव सुब्बाहरू पठाइएको कारण राजविराज भन्सार कार्यालयमा थप सुब्बाहरू पठाउन नसकेको भन्सार विभागका कर्मचारी बताउँछन् ।
राजविराज भन्सार कार्यालयमा हाल नायव सुब्बा महेश रेग्मी एक्लै कार्यरत छन् । उक्त कार्यालयमा भन्सार विभागले सरुवामा कर्मचारी पठाउन उदासिनता देखाएपछि सुनसरी भन्सार कार्यालयबाट रोटेसनमा २ जना नायव सुब्बा खटाउन विभागले भनेको छ । तर, यो तरिकाले मुद्दासम्बन्धी कुनै काम फछ्र्यौट हुने सम्भावना देखिँदैन ।
भन्सारमै थन्किए सवारीसाधन
गैरकानूनी क्रियाकलापमा संलग्न सवारीसाधन प्रहरीले नियन्त्रण लिएर भन्सार कार्यालयमा बुझाए पनि वर्षौंदेखि लिलामी नहुँदा जीर्ण अवस्थामा थन्किएका छन् । राजविराज भन्सार कार्यालयमा भएका सयौं सवारीसाधन लिलामी हुन नसक्दा पुरानो भएर काम नलाग्ने भएका छन् ।
जिल्लाका विभिन्न स्थानबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका मोटरसाइकल, पिकअप, अटो, ट्रक, मारुती भेन, कारसहितका सवारीसाधन वर्षौंसम्म लिलामी हुन नसक्दा जीर्ण बनेका हुन । कर्मचारी अभावका साथै सरकारी निकायको ढिलासुस्तीका कारण वर्षौंसम्म भन्सारमा लाखौं मूल्य बराबरको सवारीसाधन त्यतिकै थन्किएको हो । चोरी तस्करीका साथै नेपाली तथा भारतीय नम्बर प्लेट लगाएर नियम उल्लङ्घन गरी गुडाइने सवारीसाधन प्रहरीले नियन्त्रणमा लिई भन्सारमा बुझाउने गरेको छ ।
मूल्याङ्कन गर्न ढिलाइ भएकोले बरामद भएका सवारीसाधन लिलामी गर्न नसकिएको राजविराज भन्सार कार्यालयले जनाएको छ । चलाउन सकिने सवारीसाधन पनि भन्सार कार्यालयपरिसरमा थन्किदासमेत लिलामी प्रक्रिया अगाडि बढाइएको पाइँदैन । वर्षौंदेखि भन्सारपरिसरमै त्यतिकै थन्किँदा सवारीसाधन जीर्ण बनेका छन् भने लाखौं राजस्व पनि गुम्ने अवस्था छ । नेपाल सरकारको मेकानिकल इन्जिनियरले सुरक्षाकर्मीले बरामद गरेका सवारीसाधनको मूल्याङ्कन गर्दै रकम निर्धारण गरेपछि लिलामी हुने प्रावधान छ ।