विराटनगर । विराटनगर–४ खार्जीमा रहेको यातायात व्यवस्था कार्यालयमा बिचौलियाको बिगबिगी बढेको छ । बिचौलियाले गर्दा कार्यालयको कार्यसम्पादनमा असर परेको छ भने सेवाग्राही अनावश्यक सास्ती भोग्न बाध्य छन् ।

मोरङ प्रहरीमा उजुरी परेपछि यातायात कार्यालय विराटनगरबाट बिचौलिया काम गर्ने १२ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ स्थित यातायात कार्यालय विराटनगर अगाडि बिचौलियाको रूपमा काम गर्ने, सर्वसाधारण मानिसलाई प्रलोभनमा पारी दुःख दिने, हैरानी दिनेलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ का ४१ वर्षीय सन्जिव कोइराला, २४ वर्षीय राजेश खड्का, २५ वर्षीय गौरवकुमार माझी, ३७ वर्षीय राजु कोइराला, २२ वर्षीय राजीव मण्डल, महानगरपालिका–११ बस्ने २७ वर्षीय युवराज लम्साल छन् । 

त्यस्तै, महानगरपालिका–५ बस्ने ३१ वर्षीय अनिल बस्नेत, सुनसरी बर्जु गाउँपलिका–६ बस्ने २७ वर्षीय प्रवीणकुमार थन्दार, मोरङ कटहरी गाउँपालिका–१ का ३७ वर्षीय भागवत राजवंशी, मोरङ बूढीगङ्गा गाउँपालिका–२ का ५० वर्षीय उदय कार्की र सोही गाउँपालिका–१ का २१ वर्षीय सुनिल दाहाल र विराटनगर महानगरपालिका–३ का २९ वर्षीय अजयकुमार मण्डल पक्राउ परेका हुन् । 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर सरोज खनालको टोलीले सोमबार साँझ ७ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी जोशीले जानकारी दिए । ‘उनीहरूलाई मोरङ कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेका छौं’–डिएसपी जोशीले भने । कार्यालयमा अहिले ३ किसिमका बिचौलियाको प्रभाव देखिने गरेको छ । बिचौलियामध्ये पहिलोमा यातायात प्रा.लि.हरूका प्रतिनिधि भनेर आउनेहरू छन् । त्यस्तै, दोस्रोमा मोटरसाइकल तथा गाडीको शोरुमका प्रतिनिधि बताउनेहरू र तेस्रोमा शुद्ध दलाली गर्नेहरू छन् । उनीहरूले सहयोग गरिदिने बहानामा सेवाग्राहीबाट मनपरी रकम असुल्ने गरेका छन् । 

‘बिचौलियाले सेवाग्राहीलाई झुक्याएर रकम असुल्छन् अनि कर्मचारीलाई समेत त्यसमै मुछ्ने गरेका छन्’–अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने । यातायात कार्यालयअगाडी खटिने बिचौलियाले ट्रायलमा फेल भएका सेवाग्राहीलाई लाइसेन्स बनाइदिने भन्दै रकम पनि असुल्ने गरेको पाइएको छ । उनीहरूले चारचक्के गाडीको लाइसेन्स बनाइदिने भन्दै ३० हजारसम्म बुझेको गुनासो मोरङ प्रहरीमा पुगेको छ । त्यसैगरी सवारी प्रमाण–पत्रको नवीकरण गरिदिने बहानामा पनि रकम असुल्ने गरेको पाइएको छ । 

‘सवारी धनीले नवीकरणको लागि जिम्मा दिएर पठाउने गरेका रहेछन् । तर बिचौलियाले नवीकरणको नक्कली छाप लगाएर दिने गरेको पनि पाइयो’ मोरङ प्रहरीका एकजना अनुसन्धान अधिकृतले भने, ‘मेडिकल पासमा पनि बिचौलियाले पैसा लिने गरेको पाइएको छ ।’ कार्यालयको अगाडि बसेर सेवाग्राहीलाई तानातान गर्ने गरेको गुनासो रहेको छ । बिचौलियाहरूले कार्यालयबाहिर बसेर सेवाग्राहीलाई दुःख दिन नछोडेको यायायात कार्यालयको भनाइ छ ।