इनरुवा । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाअन्तर्गत सुनसरीको एउटा केन्द्रमा सेटिङमै नक्कली परिक्षार्थीले जाँच दिँदै आएको फेला परेको छ ।
ह्वाट्स एप ग्रुप बनाई एसईईमा चिट चोरी गराएको घटना सेलाउन नपाउँदै नक्कली विद्यार्थीले परीक्षा दिइरहेको खुलेको हो । अनुगमनको क्रममा मङ्गलबार बर्जु गाउँपालिकाको अमाहीवेल्हास्थित नेरा मा.वि. परीक्षा केन्द्रमा नक्कली विद्यार्थीले जाँच दिइरहेको फेला परेको हो । परीक्षा दिन बसेका सन्देश चौधरीको उत्तरपुस्तिकामा १२ उत्तीर्ण पुष्पा पण्डितले लेख्दै गरेको भेटिएपछि नक्कली विद्यार्थीले जाँच दिएको खुलेको हो ।
सुनसरीका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीका अनुसार सूचनाका आधारमा चेकजाँचमा पुग्दा महिलाले परीक्षा दिइरहेको फेला परेको थियो । सोधपुछका क्रममा परीक्षा केन्द्र रहेकै विद्यालयबाट १२ उत्तीर्ण गरेकी पण्डितले अघिल्ला दिनहरूको समेत परीक्षा लेखेको खुलेको छ । सुवेदीका अनुसार एसईईमा जाँच दिन बसेका विद्यार्थी उक्त विद्यालयको कार्यालय सहयोगी दिवस चौधरीको छोरा हुन् । छोरालाई आफ्नै विद्यालयमा केन्द्र पार्नको लागि जनकल्याण मा.वि. बर्जुमा भर्ना देखाइएको थियो । सोही अनुसार नेरा मा.वि.मा सेन्टर कायम गराई परीक्षा हलको कुनामा बसेर परीक्षा दिने बन्दोबस्ती मिलाइएको थियो ।
शिक्षा विकास तथा समन्वय प्रमुखले भने, ‘सन्देशलाई पास गराउन बाबु दिवस र केन्द्राध्यक्षसहित निरीक्षकहरूकै मिलेमतो स्पष्ट देखिन्छ । परीक्षा अवधिका लागि पियनमा नियुक्त गरिएकी १२ उत्तीर्ण पुष्पा पण्डित पानी बोक्ने बहानामा सन्देशको स्थानमा पुगेर उत्तरपुस्तिकमा लेख्ने गरेको प्रमाणित भएको छ ।’ नक्कली विद्यार्थीको बारेमा सोधीखोजी गर्दा कसैलाई भने वा जानकारी गराएमा अन्य परीक्षार्थीहरूलाई परीक्षामा कडाइ गर्ने र निकालिदिने डर, त्रास देखाएको बुझिएको सुवेदीले बताए ।
सोही आधारमा अन्य विद्यार्थी चुप बसेको पाइएको उनले बताए । सुवेदीले बताए अनुसार मिलेमतोमा परीक्षा दिन सघाउने केन्द्राध्यक्ष हबिब मन्सुरी र कार्यालय सहयोगीसहित नक्कली परीक्षार्थी, परीक्षामा सामेल विद्यार्थी र अन्य चारजना निरीक्षकसमेतलाई निष्कासन गरिएको छ । सम्बन्धित विद्यार्थीको नाममा दिइएका सबै परीक्षा रद्द गरिएको छ । साथै केन्द्राध्यक्ष मन्सुरीको स्थानमा कञ्चनकुमार मण्डललाई जिम्मेवारी दिइएको छ ।
एसईई परीक्षा चलिरहँदा परीक्षाको अघिल्ला दिन ह्वाट्स एपमार्फत् समूह बनाई प्रश्नपत्र आदान–प्रदान गरी चिट चोराउने गरिएको विषय बाहिरिएको थियो । सुनसरीमै विद्यार्थीबाट रकम लिएर चिट चोराउन सहयोग पु¥याउने निरीक्षकसमेत फेला परेका थिए । उनीहरू सबै निष्कासनमा परेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार परीक्षालाई मर्यादित बनाउन अनुगमन संयन्त्रलाई कडाइका साथ परिचालन गरिएको छ । परीक्षा केन्द्रमा मोबाइल र स्मार्ट वाचको प्रवेशमा कडाइ गरिएको छ ।