धरान । एउटै नम्बर प्लेट प्रयोग गरी दुईवटा बोलेरो गाडी सञ्चालन गरिएको सूचना प्राप्त भएपछि प्रहरीले ती गाडी नियन्त्रणमा लिएको छ ।
अमरहाटस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा यही चैत ७ गते प्रदेश १–०१–००१ ज ३९८५ एकै नम्बर प्लेट भएका दुईवटा बोलेरो गाडी नियन्त्रणमा लिएको थियो । ती दुवै गाडीको च्यासिस नम्बर MA1XE2GHKG2H58842 र इन्जिन नम्बर GHG4G58027 रहेको प्रहरीले जनाएको छ ।
त्यसपछि अर्को गाडीको खोजी गर्ने क्रममा आइतबार बिहान धरान उपमहानगरपालिका वडा नं. १३ अमरहाटस्थित उस्तै नम्बर प्लेट (प्रदेश १–०१–००१ ज ३९८५) लगाइएको अर्को बोलेरो गाडी फेला परेको थियो । उक्त गाडीको च्यासिस नम्बर MA1XE2GHKG2458842 रहेको र केरमेट गर्न खोजिएको जस्तो देखिएको प्रहरी स्रोतले जनाएको छ । सो गाडीको इन्जिन नम्बर GHG4G58027 नै रहेकोले दुवै गाडी एउटै नम्बर प्लेटमा दर्ता गरेर चलाइएको हुनसक्ने आशङ्का गरिएको छ ।
प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान गरिरहेको छ । सो मुद्दामा यातायात व्यवस्था कार्यालयसँग समन्वय गरी थप अनुसन्धान अघि बढाइने इप्रका धरानका इन्स्पेक्टर दिवस कुँवरले जानकारी दिए ।