सुनसरीको एक स्थानीय तहमध्ये धरान उपमहानगरपालिकाको १७ नम्बर वडामा स्थापित गोधुली क्लबले नेपाली फुटबलमा पुर्याएको योगदान अतुलनीय छ । धरान–१७ मा स्थापित गोधुली फुटबल क्लब एउटा क्लब मात्रै नभई सिङ्गो धराने युवालाई जोड्ने सेतु पनि हो ।
विषय प्रवेशः
फुटबल संसारमा हेरिने खेलमध्ये पहिलो नम्बरमा आउँछ । यसका दर्शक अन्य खेलका दर्शकभन्दा पृथक् र भिन्न खालका हुन्छन् । फुटबल खेलले मात्रै लोकप्रिय भएको होइन । दर्शकका कारणले पनि लोकप्रिय भएको हो । खेल त अन्य पनि छन् तर यो खेलका दर्शक अन्य खेलका दर्शकभन्दा फरक छन् । फरक यस मानेमा कि उनीहरू उत्साही हुन्छन् । खेलाडीहरूलाई उत्साह भर्छन् । यसै कारणले पनि हरेक खेलमा फरक–फरक खेलाडीहरू मैदानमा चम्किरहन्छन् । फुटबलको इतिहास मानव विकासको प्रारम्भदेखि नै भएको भन्न सकिन्छ । मानव जाति अर्थात् होमोसेपियन्सको रूपमा हामी आएको एक लाख वर्ष अगाडिदेखि नै कुनै न कुनै रूपमा फुटबलको पनि अस्तित्व रहेको छ ।
कुनै समयमा बल अर्थात् शक्तिमा निर्भर रहेको फुटबल आजको दिनमा आइपुग्दा यो शक्तिमा निर्भर मात्रै नभई दिमागमा निर्भर रहन्छ । प्राविधिक पक्षलाई छाड्ने हो भने यहाँ खेलाडीको आन्तरिक मनस्थितिलाई पनि केलाइन्छ । फुटबलमा कुनै समय एउटा खेलाडीमा निर्भर रहन्थ्यो । तर आज उत्तरआधुनिकवाद झैँ सबै खेलाडीमा निर्भर रहनु पर्छ । एउटा खेलाडीले राम्रो खेल्दैमा खेल जितिन्छ भन्ने आधार हुँदैन । आधार तयार गर्न ११ जना खेलाडी नै उत्तिकै प्राविधिक र मानसिकरूपमा तयार भएको हुनुपर्छ । त्यसैकारण अहिले फुटबल व्यक्ति अर्थात् खेलाडीमा निर्भर भई मैदानमा उत्रिएका सबैजसो खेलाडीमा निर्भर रहेको हुन्छ । एक जना खेलाडीले खराब प्रदर्शन गर्ने बित्तिकै सम्पूर्ण खेलको संरचना नै परिवर्तन हुन्छ ।
यसैले पनि फुटबल अन्य खेलभन्दा फरक र पृथक् रहँदै आएको छ । धरानलाई मिनी ब्राजिलको रूपमा लिइन्छ । मिनी ब्राजिलको अर्थ हो, कुनै समय चोक, चोक तथा वडा वडामा खेलहरू हुन्थे । वडा वडामा म्याराडोना, पेलेजस्ता महान् खेलाडीहरूको अनुयायी हुन्थे । एवम् क्रमले फुटबलमा अधिक गतिविधि धरानमा हुन्थे । यसकारण पनि यसलाई मिनी ब्राजिलको रूपमा नामकरण हुँदै आयो । यो उपनामका पछाडि अन्य कारणहरू पनि जोडिएका छन् । जुन गोधुली क्लबको भूमिका पनि एक हो ।
२०५० सालदेखि वडा तहका खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ सुरु गरेको यो प्रतियोगिता आज रजत वर्षमा प्रवेश गरेको छ । रजत वर्षमा गोधुलीले नयाँ काम गरेर अगाडि बढेको छ । धरानलाई रात्रिकालीन फुटबलको महामेलामा प्रवेश गराउँदै छ । यसलाई अन्य प्रतियोगिताहरूले निरन्तरता दिनुपर्ने बाध्यता आइपरेको छ । अझ भनौँ, धरानमा २०५५ सालदेखि हुँदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपले पनि यसलाई अवलम्बन गर्नुपर्ने बाध्यतात्मक स्थिति आएको छ । तर, होला नहोला त्यो भने हेर्न बाँकी छ ।
गोधुलीको काया
धरान–१७ का युवाहरूले सुरु गरेको यो क्लब आजका दिनमा आफ्नै भवन तथा जग्गामा अडिएको छ । यसलाई अड्याउनका लागि धरान–१७ का बासिन्दाको अहम् भूमिका रहेको छ । अर्कोतर्फ, धरान–१७ बाट देशविदेशमा पुगेका धरानेहरूले पनि सदैव सहयोग गर्दै आइरहेका छन् । त्यहीकारण पनि यसको काया आजको अवस्थामा आइपुगेको छ । धरान–१७ का बासिन्दाले मात्रै नभई समग्र धरानेहरूले गोधुली क्लबलाई अपनत्व लिँदै आएका छन् । त्यसको उदाहरण नै आजको दिनमा २० वटा वडाहरू रहेको धरान उपमहानगरपालिकामा करिब करिब सबैजसो वडाले सहभागिता जनाउँदै आएका छन् ।
२०५० सालदेखि गोधुली प्रतियोगिता गराउँदा १९ वटा वडामा सीमित रहेको थियो । बजार क्षेत्रलाई मात्रै यसले समेट्थ्यो भने देश सङ्घीयतामा प्रवेश गरेसँगै धरानको स्वरूपमा परिवर्तन आयो भने गोधुलीको काया पनि विस्तार भयो । गोधुलीले खेलाडीहरूको कायामा पनि परिवर्तन ल्याएको छ । वडा तहमा खेल्ने खेलाडीहरू राष्ट्रिय खेलाडी बने । जसले गोधुलीको गरिमालाई मात्रै बढाएन, धरानको गरिमालाई नै बढायो । निरन्तरताको परिणामले नै पनि गोधुली आजको अवस्थामा आइपुगेको छ ।
फुटबलको विकास
नेपाली फुटबलमा जुन स्तरको लगानी छ, त्योअनुसारको खेलाडी उत्पादन चाहिँ न्यून छ । अझ भनौ अन्तर्राष्ट्रियस्तरमा नेपाली फुटबलको स्थिति राम्रो छैन । यसो हुनुको पछाडिका अनेकन कारणहरू छन् । नेपाली फुटबल विकासका लागि खेलहरू पर्याप्त छैनन् । केही खेलहरू छन् । जुन खेलाडी विकासका लागि पर्याप्त होइनन् । यो स्थिति धरानमा पनि छ । धरानमा बर्सेनि आयोजना हुने एउटा प्रतियोगिता भनेको अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप हो । यो गोल्डकपमा धरानका खेलाडीहरू सबै अटाउन सक्ने अवस्था छैन । सीमित खेलाडीहरू अटाउँछन् । ती खेलाडीहरू विभिन्न वडाहरूबाट छानिँदै आएका छन् ।
यता गोधुली रनिङ फुटबलले चाहिँ खेलाडी उत्पादनमा मद्दत त गरेको छ तर यो प्रतियोगिता पनि यथेष्ट होइन । वर्षमा एक पटक प्रतियोगिता हुँदा खेलाडीहरूले फल्ने फुल्ने मौका प्राप्त गर्दैनन् । गोधुली आफैले प्रत्येक महिना खेलाउन सक्ने सामथ्र्य पनि हुँदैन । त्यसकारण पनि फुटबललाई विकास गर्नका लागि अर्थात् खेलाडी उत्पादनमा ध्यान दिनका लागि सरकारी तथा निजी लगानीकर्ताहरूको चासो र चिन्ता हुनुपर्छ । यहाँ सरकारी निकाय भनेको धरान उपमहानगरपालिका हो । उसले पनि चौतर्फी कुरामा ध्यान दिनुपर्छ । खालि फुटबललाई मात्रै ध्यान दिएर पुग्दैन । यसका लागि निजी लगानीकर्ता अर्थात् उद्योगी व्यवसायीहरूले चासो देखाउनुपर्छ । निजी लगानीकर्ताहरूले यसलाई लगानीको वातावरण सिर्जना गरी त्यहाँबाट मुनाफा लिने अभिप्रायले गर्ने हो भने धरानको फुटबलको विकास चाँडै हुन्छ । अर्कोतिर यस्ता प्रतियोगिताहरू पनि बाह्रै मास हुने अवस्था सिर्जना गरिनुपर्छ । त्यसका लागि कुनै न कुनै लगानीकर्ताहरूकै ध्यान आकृष्ट हुन जरुरी छ । सरकारले पनि नेपाली फुटबलको विकासमा चासो र चिन्ता व्यक्त गर्नुपर्छ ।
खेलाडी किनबेच
युरोप तथा अमेरिकी महादेशहरूमा खेलाडी किनबेच व्यापक हुने गरेको छ । जहाँ विश्वभरका खेलाडीहरू किनबेच हुन्छन् भने उनीहरूको खेल प्रदर्शनका कारण पनि राम्रो मूल्य पाउँछन् । सिजनको प्रारम्भ अगावै खेलाडी किनबेच गर्ने चलनको ती महादेशहरूमा छ । यो अभ्यासलाई गोधुली फुटबल क्लबसँग आबद्ध पदाधिकारीहरूले पनि सुरु नगरेको होइन । तर, उसले त्यसलाई निरन्तरता दिन सकेन । यसका विविध पक्ष छन् । पहिलो कुरा त आर्थिक रूपमा क्लबहरू सम्पन्न छैनन् । वडाहरूमा वडाभन्दा बाहिरका खेलाडीहरू खेलाउन नपाउने प्रावधान छ । दोस्रो कुरा, खेलाडीहरूको स्तरमापन । खेलाडीहरूले आफूलाई जुन अनुशासनमा राख्नुपर्ने हुन्छ, त्योअनुसार गरेको पाइँदैन । तेस्रो राजनीतिक अस्थिरता । देशको राजनीतिसँगै स्थानीय राजनीतिले पनि खेलाडी उत्पादनमा भूमिका खेल्छ ।
देशमा स्थायित्व भयो भने मात्रै सबै कुराको विकास चाँडो हुन्छ । राजनीतिक तरल भयो भने त्यहीअनुसार अगाडि बढ्छ । त्यसले समाजलाई पनि असर गर्छ । समाजसँगै एउटा परिवार तथा व्यक्तिलाई पनि असर गर्छ । एउटा व्यक्ति समाजमा बाँच्न नसक्ने अवस्था भयो भने उसले खेल्दै आएको फुटबललाई परित्याग गर्न सक्छ । अर्थात् कुनै पनि अन्य कुरालाई परित्याग गरी ऊ पैसाका निमित्त वा परिवारका निमित्त बाहिरिन बाध्य हुन्छ । यी यस्ता कारणले पनि नेपाली फुटबलमा किनबेच स्थायित्व छैन । अर्कोतिर, स–साना क्लबहरूमा हुने यस्ता खालका किनबेच स्थायी हुँदैनन् । गोधुलीले एक प्रकारको अभ्यासलाई सुरुवात चाहिँ गरेको थियो । त्यो सुरुवातलाई निरन्तरता दिन नसक्नु चाहिँ उसको कमजोरी हो ।
रात्रिकालीन फुटबल
अन्यत्र रात्रिकालीन फुटबल सुरु भइसकेको अवस्था छ । जस्तोः विराटनगरमा आयोजना हुने विराट गोल्डकप रात्रिकालीन हुन्छ । यसले गर्दा धेरैभन्दा धेरै दर्शकहरू आउने अवस्था रहन्छ । तर धरानलाई फुटबलको मिनी ब्राजिल भनिए पनि त्यो हिसाबमा रात्रिकालीन फुटबल गराउन सकेको अवस्था थिएन । फुटबलको क्रेज भए पनि रात्रिकालीन फुटबल हुन नसक्दा दर्शकहरूको चाप हरेक वर्ष घट्दै गइरहेको थियो ।
तर, यो पटक गोधुलीले एक प्रकारको जोखिम मोलेरै रात्रिकालीन फुटबल आयोजना ग¥यो । फुटबल सुरु हुनुभन्दा अगाडिसम्म आयोजकहरूमा एक प्रकारको अन्यौलता सिर्जना रहेको थियो । तर, उद्घाटनको दिन धरान रङ्गशालाको प्यारापिट भरिभराउ देखे पछि भने एक प्रकारको उत्साह सिर्जना भयो । यसले पनि धरानमा रात्रिकालीन फुटबल खेलाउन सकिने रहेछ भनेर प्रमाणित गरेको छ । अन्य दिनमा भइरहेका खेलहरूमा पनि दर्शकहरूको उपस्थिति राम्रै देखिएको छ ।
आयोजकहरूले पनि रात्रिकालीन फुटबल खेलाउन सकिने आधारहरू तयार भएको बताउँदै आइरहेका छन् । तर यसलाई निरन्तरता दिनु चाहिँ महŒवपूर्ण पक्ष हो । किनकि यस पटक आयोजकले बत्ती व्यवस्थापनका लागि ८ लाख रुपैयाँ खर्च गरेको अवस्था छ । यो उसका लागि अतिरिक्त खर्च हो । खेलाडीहरूको लागि र दर्शकहरूका लागि पनि रात्रिकालीन फुटबल एकदमै उपयुक्त समय हो । काम गर्ने, व्यवसाय गर्ने, उद्योग व्यापारमा मस्त हुने सर्वसाधारणदेखि उद्योगी व्यापारीहरूसम्मका लागि उक्त समय उपयुक्त हुन्छ । फुटबल हेर्ने दर्शकहरूको माहौल बढ्छ । यसले एक प्रकारको ‘हाइप’ सिर्जना गर्छ । यसले गर्दा बूढासुब्बा गोल्डकपलाई एक प्रकारको नैतिक दबाव सिर्जना हुन्छ र बूढासुब्बा गोल्डकपले पनि रात्रिकालीन फुटबल गरेमा दर्शकहरूको उपस्थिति बढाउन सक्छ । त्यसका लागि भने बूढासुब्बा गोल्डकप आयोजकले क्लब छनोटमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । त्यो अवस्था भने गोधुलीलाई छैन । किनकि उसले वडास्तरीय फुटबल प्रतियोगिता गराउने भएकाले त्यो छनोट सुविधा प्राप्त गर्दैन ।
निष्कर्ष
गोधुली क्लबले अब के गर्नुपर्छ ? के गर्दा उसले धरान तथा धराने फुटबललाई थप विकास गर्न सक्छ ? यो चाहिँ गम्भीर र समीक्षा गर्नुपर्ने प्रश्न हो । गोधुली क्लबले जुन हिसाबमा निरन्तरता दिँदै आएको छ । यो सह्रानीय छ । अर्कोतर्फ स्थानीय सरकारसँगको साझेदारीमा यसले काम गर्नुपर्छ । स्थानीय सरकार, वडा सरकारहरूले यो प्रतियोगितालाई ‘मार्की प्रतियोगिता’ को रूपमा विकास गर्नुपर्छ । यसलाई एउटा लिग गेमको रूपमा विकास गर्नका लागि एक प्रकारको छलफल गर्न जरुरी छ ।
अर्कोतर्फ, धरान–१८ को डिपो स्कुलले आयोजना गर्दै आएको ललित–अम्बर डिपो कपलाई प्रवर्धन गर्नमा भूमिका खेल्नुपर्छ । किनकि साना खेलाडीहरूको उत्पादनमा केही न केही भूमिका डिपो कपले खेलिरहेको छ । यसलाई प्रवर्धन गर्न सकियो भने गोधुली फुटबलका लागि मात्रै नभई बूढासुब्बा गोल्डकपका लागि पनि एउटा कोसेढुङ्गा बन्न सक्छ र हाल धरान उपमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईले सञ्चालनमा ल्याएको ग्रासरुट फुटबललाई थप विकासमा ध्यान दिनुपर्छ । यसलाई मनोरञ्जनको थलो मात्रै बनाइनु हुँदैन । ग्रासरुटमा आउने खेलाडीहरूलाई छनोट गरेर उनीहरूलाई बन्द क्याम्प (प्रशिक्षण) मा राख्नुपर्छ । कार्यक्रमलाई निरन्तरता दिँदै राम्रा खेलाडी तथा फुटबलमा भविष्य देखेका बालबालिकाहरूलाई थप प्रवर्धन गर्नमा ध्यान दिनुपर्छ । अनि वडास्तरीय फुटबलको विकास र स्तरीयतामा थप वृद्धि भएर जान्छ ।
त्यहीँबाट उत्पादन भएका खेलाडीहरूले देशलाई टेवा दिन सक्छन् । आज त्यसतर्फ भने स्थानीय सरकार पनि चुकेका छन् भने यहाँका फुटबल हस्तीहरू पनि चुकेका छन् । ग्रासरुटलाई मनोरञ्जनको थलो जस्तो मात्रै बनाइएको छ अर्कोतिर डिपो कप जस्ता फुटबल प्रतियोगिताहरूमा आएका धरानका स्कुलका विद्यार्थी खेलाडीहरू (जो राम्रा छन्) लाई छनोट गरेर बन्द क्याम्पमा राख्ने वातावरण तयार गर्नुपर्छ । यस्ता विविध कुरामा ध्यान दिएर लाग्ने हो भने धरानको फुटबलको विकास चाँडै हुनेछ । यसका लागि क्लब पनि तयार हुनुपर्छ । क्लबले भोलि के गर्ने ? कस्ता खेलाडी निर्माण गर्ने ? कस्तो वडा निर्माण गर्ने भन्ने निर्धारण गर्छ ।
यसतर्फ सबै सबै फुटबलका हस्ती तथा क्लबहरूले ध्यान दिने हो भने त्यसले भविष्य निर्माण गर्न सक्छ । धरानले फुटबलका क्षेत्रमा साँच्चिकै मिनी ब्राजिलको उपनामलाई स्थापित गर्नेछ भन्ने विश्वास लिन सकिन्छ ।