विराटनगर । मोरङको विराटनगरमा नेकपा (एमाले)को जनवर्गीय सङ्गठन प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन चलिरहँदा अध्यक्ष पदमा ‘सतरन्ज खेल’ झैँ ‘ट्वीस्ट’ आएको छ ।

अध्यक्ष पदमा उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डे लाइनमा छन् । तर, गत फागुन १६ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतलाई बोलाएर महाधिवेशनको विषयमा ब्रिफिङ लिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकमा ओलीले प्रेस चौतारीको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए । यता प्रचार तथा प्रकाशन विभागका सचिव गणेश पाण्डेलाई बनाउन निर्देशन थियो । सोअनुसार पाण्डेलाई सचिवको जिम्मेवारी दिइएको थियो । तर, सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले आफूलाई पार्टीले जिम्मेवारी दिए पनि उक्त पदमा बस्न नचाहेको आशयको स्ट्याटस लेखेका थिए । 

त्यसको दुई दिनपछि अध्यक्ष ओलीकै अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी बैठकले चौतारीका उपाध्यक्ष गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनित गरेको थियो । अध्यक्ष ओलीले पाण्डेलाई प्रचार सचिव बनाउने निर्णय सुनाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भने आपत्ति जनाएका थिए । तर अध्यक्ष ओलीले अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारीको नेतृत्वमा राजेश राईलाई नै ल्याउने बताएका थिए । सोहीअनुसार पार्टी महासचिव शङ्कर पोखरेलले निर्णयसमेत सार्वजनिक गरेको राई पक्षको दाबी छ । 

यस्तै गत फागुन १६ गतेको निर्णय चैत ६ गते भने ओली आफैले उल्टाएका थिए । सो दिन बालुवाटार पुगेका जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख ढकाल, प्रचार विभाग प्रमुख गौतम र प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई ओलीले गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिए । यद्यपि उपाध्यक्ष राईले चैत ८ गते नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । सोही दिन गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै पार्टीको निर्णय भन्दै अध्यक्ष पदको उम्मेदवारी घोषणा गरे । एमाले सचिवालयको निर्णय दुई सातामै उल्टिएपछि अहिले चौतारीमा भाँडभैलो सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा नआएपछि ओलीले महासचिव शङ्कर पोखरेललाई पठाएका छन् । प्रमुख अतिथि रहेका महासचिव पोखरेलले सम्बोधनको क्रममा एमाले निकट पत्रकारहरूको सङ्गठन भएकाले सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । उद्घाटन सत्रमा उनले भने, ‘आजका दिनमा जुन परिस्थिति हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ । हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले काङ्ग्रेस र एमाले मिलिरहेका छन् । यो अवस्थामा सर्वसम्मत र एकताबद्धरूपमा नेतृत्व निर्वाचित गर्नु होला ।’ उनले विगतको विभाजनको पीडा सम्झिएर सहमति गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यसो त उपाध्यक्ष पाण्डेलाई अध्यक्ष बनाउन पार्टी तहबाट निर्देशन दिएको सार्वजनिक भएको थियो । यता लोकतान्त्रिक पद्दति अपनाउनुपर्ने भन्दै अधिवेशनस्थलमै हस्ताक्षर अभियान चलाएका छन् । पाण्डेले उक्त अभियानलाई केही व्यक्तिहरूले रमाइलोका लागि गरेको हुनसक्ने दाबी गरे । निर्वाचन गर्ने÷नगर्ने भन्ने विषय सङ्गठन र पार्टीको विषय भएकाले सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा पार्टी रहेको उनले बताए । आफू अध्यक्षको उम्मेदवार रहेको र सहमतिमा हुनुपर्ने भन्नेमा रहेको उनले बताए । ‘अहिलेसम्म कसैलाई पार्टीले अध्यक्ष यो हो भनेर भनेको पनि छैन । सहमतिकै लागि म तयार छु । सहमति भन्दा आफू हुँदा ठीक, अरू हुँदा बेठीक भन्ने हुँदैन । केही साथीहरू आत्तिएर हिँडेको जस्तो देखिन्छ’ पाण्डेले भने, ‘दुई कार्यकाल यता प्रेस चौतारीमा निर्वाचन भएको छैन । अहिले पार्टीले कुनै पनि जनसङ्गठनको निर्वाचन नगर्ने भनेको छ । त्यसकारणले गर्दा सहमतिमै गर्ने पार्टीको निर्णय हो ।’

उनले गत पुसमा सम्पन्न केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार एउटा जिल्लाबाहेक सबै जिल्लामा सहमतिमै नेतृत्व चयन गरेको पनि बताए । ‘जिल्लामा चाहिँ सहमति गरेर आउने, केन्द्रको सचिवालय बैठकमा पनि सहमतिका लागि तयार छौं भन्ने अनि अहिले निर्वाचन गर्ने भन्ने कसरी हुन्छ ?’ उनले भने, ‘आफू हुँदा सहमति । आफू नहुँदा असहमति भनेर हिँड्नु चाहिँ राम्रो होला जस्तो लाग्दैन ।’ पार्टीले कस्तो जनसङ्गठन बनाउने भन्ने पार्टीको सोच रहेको भन्दै उनले सोहीअनुसार पार्टीले निर्णय गर्न सक्ने बताए । 

तर, अर्का उपाध्यक्ष राजेश राईले नेतृत्व तहको कुरालाई सहर्ष स्वीकार गरी लोकतान्त्रिक विधि र पद्दतिअनुसार अगाडि बढ्नुपर्ने बताए । होटल मनास्लु इन परिसरमै ठूलो ब्यानर राखी राई समूहले हस्ताक्षर अभियान चलाइरहेको छ । हस्ताक्षर अभियान चलाइरहेकाहरू भने नेतृत्व चयनमा टीकेप्रथा हुन नहुने बताउँछन् । अध्यक्षका प्रत्यासी राजेश राईले भने प्रतिस्पर्धालाई रोक्न नहुने बताए । ‘प्रेस चौतारी नेपालको नेतृत्व निर्माण लोकतान्त्रिक प्रक्रिया बमोजिम र सार्वभौम प्रतिनिधिहरूको मतमार्फत् हुनेछ’ राईले भने, ‘राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिको अभिमत नै निर्णायक तत्व हो । यस कुरालाई हामीले हेक्का राखेका छौं । सार्वजनिक चर्चा र चिन्ता गरिएजस्तो अलोकतान्त्रिक प्रक्रियामा हाम्रो अधिवेशन जानेछैन र जान दिइने छैन ।’

यसैबीच एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले दुवै अध्यक्षका आकाङ्क्षीलाई छलफलमा राखेर राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नु प¥यो । पार्टीको निर्णय मान्नु प¥यो’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ पक्षमा देखिएको छलफलमा बसेका एकजनाले बताए । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नु पर्ने बताएका थिए । 

सोही विषयलाई इङ्गित गर्दै राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्कै पनि सर्वसम्मति जुट्नेछ । देशभरबाट आउनुभएका प्रतिनिधि साथीहरूलाई साक्षी राखेर उम्मेदवारहरूबीच सर्वसम्मतिको प्रयत्न हुनेछ । यदि सर्वसम्मति नजुटे मत विभाजनको लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनेछ ।’ उनले आफ्नो उम्मेदवारीको निरूपण लोकतान्त्रिक विधिमार्फत् नै हुने जिकिर गरेका छन् । ‘कुनै करबल अथवा अलोकतान्त्रिक विधिप्रति कुनै सम्झौता नहुनेमा ढुक्क रहन आग्रह गर्दछु र चुन्ने तथा चुनिने अधिकारप्रति प्रतिबद्ध रहन सबैमा आग्रहसमेत गर्दछु ।’