विराटनगर । प्रदेश १ मा समानुपातिकतर्फको मतगणना सकिएको छ । समानुपातिकतर्फको मतगणना सकिँदा प्रदेश १ मा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । एमालेले प्रदेशमा ६ लाख ६५ हजार ४ सय ६० मत पाएर प्रदेश १ मा पहिलो पार्टी बनेको हो ।
२०७४ सालको निर्वाचनको तुलनामा ८ हजार २ सय ४६ कम मत पाए पनि एमाले पहिलो पार्टी बनेको हो । यसपटक प्रदेशको समानुपातिकमा अघिल्लो निर्वाचनभन्दा १ लाख ६२ हजार ५ सय २२ बढी मत सदर भएको थियो । एमालेले २०७४ सालमा प्रदेशसभामा ६ लाख ७३ हजार ७ सय ९ मत पाएको थियो ।
२०७४ सालमा कुल सदर मत १७ लाख ३६ हजार ६ सय २२ रहेको थियो । यो निर्वाचनमा भने सदरमत १८ लाख ९९ हजार १ सय ४४ रहेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै नेपाली काङ्ग्रेसले यो पटक ५ लाख ६२ हजार ९ सय ५६ मत पाएको छ । यो मत ०७४ सालको भन्दा २३ हजार २ सय ९० कम हो । २०७४ सालमा काङ्ग्रेसले ५ लाख ८६ हजार २ सय ४६ मत ल्याएको थियो ।
माओवादी केन्द्रले पनि अघिल्लो निर्वाचनमा भन्दा यो निर्वाचनमा २५ हजार ५ सय ३६ कम मत पाएको छ । माओवादी केन्द्रले २०७४ मा २ लाख ६ हजार ७ सय ८१ मत पाएकोमा यसपटक १ लाख ८१ हजार २ सय ४५ मत पाएको छ ।
अघिल्लो पटक प्रदेशसभामा प्रत्यक्षमा १ र समानुपातिकमा २ गरी तीन सांसद् रहेको चौथो ठूलो दल बनेको जसपा (तत्कालीन सङ्घीय समाजवादी) पनि खुम्चिएको छ । उसले २०७४ सालमा ७० हजार ४ सय ५६ मत पाएकोमा यसपटक ८ हजार ७ सय ५३ कम अर्थात् ६१ हजार ७ सय २३ मत मात्र पाएको छ ।
राप्रपाले भने अघिल्लो पटकको तुलनामा यस पटक छलाङ मारेको छ । राप्रपाले २०७४ सालमा ५७ हजार ३ सय ४२ मत ल्याएकोमा यो पटक १ लाख ४१ हजार १ सय ६९ मत बढाउँदै करिब २ लाख मत प्राप्त गरेको छ ।
एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले ५५ हजार ९ सय ५७ मत पाएको छ । प्रदेशसभाको समानुपातिक सिट प्राप्त गर्न १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । अन्तिम मतपरिणामअनुसार काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा र एकीकृत समाजवादीले मात्र थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिक निर्वाचनमा प्राप्त मतलाई निर्वाचन आयोगले सेन्ट लग सूत्रबाट हिसाब गरी सिट बाँडफाँड गर्ने गर्दछ । त्यसअनुसार समानुपातिकको ३७ सिटमा नेकपा (एमाले)ले १५ सिट पाउने भएको छ । यस्तै नेपाली काङ्ग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४, जसपाले १ र एकीकृत समाजवादीले १ सिट पाउनेछन् ।
२०७४ निर्वाचनमा पनि एमालेले १५ सिट नै प्राप्त गरेको थियो । त्यसबेला १३ सिट पाएको काङ्ग्रेस, ५ सिट पाएको माओवादी र २ सिट पाएको जसपाले भने १–१ सिट गुमाउँदा १ सिट पाएको राप्रपाले ४ सिट प्राप्त गर्ने भएको छ । २०७४ को निर्वाचनमा थ्रेसहोल्ड कटाएर १ सिट प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने यसपटक थ्रेसहोल्ड कटाउन सकेन । उसको मत भने अघिल्लो पटकभन्दा ४ सय ८ बढेर २६ हजार ५ सय ३१ पुगेको छ ।