सङ्खुवासभा/ सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट अवैध रूपमा भित्र्याइँदै गरेको चिरानी काठ बरामद भएको छ ।
किमाथाङ्का सडक–खण्डमा पर्ने इलाका प्रहरी कार्यालय हेदाङ्नाको स्थायी चेकपोष्टमा चेकजाँच गर्ने क्रममा किमाथाङ्का तर्फबाट जाँदै गरेको ट्याक्टरबाट काठ बरामद गरिएको हो ।
सोमबार दिउँसो साढे १ बजे ना.७ त ६३६३ नम्बरको ट्याक्टरबाट अवैधरूपमा १ सय ४१ थान काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुभेष अधिकारीले जानकारी दिए । अवैध रूपमा ल्याइँदै गरेको ९८६.५ क्युविक फिट चिरानी काठसहित ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको हो ।
मकालु–१ का ट्याक्टर चालक सुरज राईलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि मकालु–बरुण राष्ट्रिय निकुञ्ज हेदाङ्नालाई जिम्मा लगाइएको इन्स्पेक्टर अधिकारीले बताए ।