भद्रपुर । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करी भइरहेको सार्वजनिक भएको छ । भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएपछि घटना सार्वजनिक भएको हो ।
राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीको दुर्गा मन्दिर नजिकैबाट अन्दाजी एक करोड मूल्य बराबरको लत्ताकपडा तथा मोर्टर पार्टस् बरामद गरेपछि सो क्षेत्रबाट तस्करी हुने गरेको पुष्टि भएको छ ।
घटना विवरण अनुसार सेटिङमा तस्करीको लाइन खुलाएर भित्राइएको सामान बरामद गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली बोलाएर दुईवटा घरमा छापामा मारेका थिए ।
राजश्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत विदुर गौतम र गणका डीएसपी मदनकुमार रसाइलीको नेतृत्वमा खटिएको संयुक्त टोलीले मङ्गलबार बिहान करिब ६ बजे मेचीनगर–६ स्थित झिल्केघाम टोल निवासी मदन पोखरेल र सोही ठाउँका उत्तम ठकुरीको घरमा छापा मारेको थियो ।
पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी ५९ बोरा सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका डीएसपी सुमन पोखरेले बताए ।
बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको डीएसपी पोखरेले बताए । अनुमानित एक करोड मूल्य बरामद रहेको उनले जनाए । बरामद गरिएको सामान मुना तामाङ्को भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापा ,इलाका प्रहरी कार्यालय काँकडभिट्टाका सादा पोसाकमा खटिएका प्रहरीको संलग्नतामा कारोबारीहरूले खुलेआम तस्करी धन्दा चलाइरहेको बुझिएको छ ।
सादा पोसाकमा खटिएका सशस्त्र र नेपाल प्रहरीकै सेटिङ मेचीनगर–६ स्थित पुरानो मेची पुलमाथि र मेचीनगर नगरपालिका–७ सतिघट्टाको गैरीगाउँबाट अहिले पनि ठूलो मात्रामा लत्ताकपडा, किराना , लाइटर, कवाडी लगायतको काम भइरहेको पाइएको छ । कारोबारीले भन्सार छलेर दिनहुँ लाखौँ मूल्य बराबरको सामान भित्राउने र पठाउने काम गरिरहेका छन् । त्यहाँबाट चलाएको लाइन खर्च बापत ड्युटीदेखि इन्चार्जसम्मलाई बुझाउने गरेको स्रोतको दाबी छ ।
केही समयअघि मात्र सतिघट्टा नाकाबाट भित्राइएको भन्सार छलीका सामान सशस्त्रले राजमार्गमा बरामद गर्न खोज्दा पिन्टु साहले घेराबन्दी गरी पिकअपसहितको सामान लिएर फरार भएका थिए । त्यसपछि सशस्त्रले प्रहरीमा उजुरी हालेर कारोबारी साहलाई पक्राउ गर्न लगाएर अभद्र व्यवहारमा मुद्दा चलाउन लगाएका थिए । कारोबारी साह दुई साता इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा बसेर हाल धरौटीमा रिहा भएका छन् ।