काठमाडौँ । नेपाल पत्रकार महासङ्घले शुक्रबार तीनकुनेमा भएको घटनाको भत्र्सना गर्दै विरोध जनाएको  छ । महासङ्घको शनिबार बसेको उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले शुक्रबारको घटनामा क्षति पुर्याइएका सञ्चारगृहको अनुगमन, घाइते सञ्चारकर्मी र हराएका सञ्चार सामग्रीको विवरण सङ्कलन गर्ने, आज (आइतबार) कार्यस्थलमा कालोपट्टी बाँधेर काम गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी विज्ञप्तिमा महासङ्घले घटनाका सम्बन्धमा सोमबार केन्द्रीय समिति, प्रदेश समिति र शाखामार्फत् सरकारलाई ज्ञापन–पत्र बुझाउने र मङ्गलबार सरोकारवाला सङ्गठनसँग छलफल गर्ने निर्णय गरेको जनाएको छ । समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक कार्यरत सञ्चारगृह र उनको परिवारसँग छलफल गरी प्रतिवेदन तयार पार्न उपाध्यक्ष उमिदप्रसाद बागचन्दको नेतृत्वमा समिति पनि गठन गरेको जनाइएको छ । उक्त समितिका सदस्यहरूमा महासङ्घका सचिवहरू रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी र वैकुण्ठराज पराजुली रहेको महासङ्घका महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् । 

महासङ्घले शुक्रबार भएको आन्दोेलनमा सहभागी अराजक समूहले लगाएको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगजनी र तोडफोड गरिएको, पत्रकार घाइते भएको र सञ्चार सामग्री हराएको घटनाको विरोधमा देशव्यापी विरोध प्रदर्शनसमेत गरेको छ । पूर्वराजा समर्थित समूहहरूले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवम् तोडफोड गरेका थिए ।

देशभर विरोध प्रदर्शन
पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पणसहित इटहरीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको इटहरी समाचारदाताले जनाएका छन् । नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा सञ्चारकर्मी रजकको मृत्युको घटना छानबिन र दोषीउपर कानूनतः कारबाहीको माग गरिएको छ । 

सुनसरीका क्रियाशील पत्रकारहरूले इटहरी उपमहानगर गेटअघि विभिन्न प्लेकार्डहरू बोकेर प्रेस स्वतन्त्रताको ग्यारेन्टी, पत्रकार सुरक्षाको ग्यारेन्टीलगायतका नाराबाजी गरेका थिए । पत्रकारहरूले शान्तिपूर्ण तवरले विरोध ¥याली पनि निकालेका थिए । उपमहानगरको गेटबाट निकालिएको र्याली मुख्य चौक हुँदै पुनःउपमहानगरकै गेटमा पुगेर कोणसाभामा परिणत भएको थियो । 

धनकुटा समाचारदाताका अनुसार नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाको आयोजनामा सम्पन्न विरोधसभामा बोल्ने वक्ताहरूले शुक्रबार काठमाडौंमा भएको अराजक मानवता विरोधी र जघन्य आपराधिक गतिविधि भएको भन्दै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । विरोधसभामा बोल्ने वक्ताहरूले एभिन्यूज टेलिभिजनका क्यामारापर्सन सुरेश रजकलाई कोठाभित्र बन्धक बनाएर हत्या गरेको भन्दै घटनामा संलग्नलाई तत्काल कानून बमोजिम कारबाही गर्नुपर्ने माग सरकारसँग राखेका छन् । 

उनीहरूले सञ्चारगृह, पत्रकार, सर्वसाधारण नागरिक, सार्वजनिक सम्पत्ति, सरकारी सम्पत्तिको तोडफोड आगजनी गरेकाले दोषीलाई  हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले लोकतन्त्र, गणतन्त्रको विकल्प लोकतन्त्र, गणतन्त्र नै हुनसक्ने भन्दै कुनै पनि हालतमा नेपालमा मरिसकेको राजतन्त्र नफर्किने दाबी गरेका छन् । वक्ताहरूले भने, ‘आर्यघाटमा पुगिसकेको राजतन्त्र फेरि फर्कन्छ भन्नु राजावादीहरूको लागि दिवासपना मात्र हो ।’ 

नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष विदुर खवासको अध्यक्षतामा सम्पन्न विरोधसभामा प्रेस स्वतन्त्र सेनानी एवम् नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष सञ्जय सन्तोषी राई, नेपाली काङ्ग्रेसका पहिचानवादी नेता आनन्द सन्तोषी राईलगायतले सम्बोधन गरेका थिए ।