इटहरी । सुनसरीको इटहरीमा शनिबार राति ८ बजेतिर एक पुरुषको शव फेला परेको छ ।

इटहरी उपमहानगरपालिका–६ स्थित टेङ्ग्रा खोलानजिकै अन्दाजी ३८ देखि ४० वर्षका पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

शवको मुचुल्का तयार पारी राति नै पोष्टमार्टमका लागि धरानस्थित बीपी प्रतिष्ठान पुर्याइएको इटहरी प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । शवको पहिचान भईनसकेको र पोष्टर्माटमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीको भनाइ छ । प्रहरीले मृतकको तस्बिर सामाजिक सञ्जाल फेसबुकलगायतमा राखेर शव पहिचानको लागि अनुरोध गरेको छ ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित सुविधा मार्गमा पेन्सन थाप्न आएकी सोलुखुम्बु नेचा घर बताउने करिब ५५–५६ वर्षीया फूलमाया राई मृत अवस्थामा भेटिएकी छन् । उनको वास्तविक ठेगाना पत्ता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ । 

उनको शव मुचुल्का गरी पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । ती महिलाले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका कारण जन्डिससमेत भएको र कलेजो तथा मिर्गौलासम्बन्धी बिरामी रहेको प्रहरीले जनाएको छ ।