धरान । साहित्यमा दलितको मुद्दा हाल मुखरित भइरहेको ‘साहित्यमा दलितको मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले बताएका छन् । 

६० औँ अन्तर्राष्ट्रिय जातीय छूवाछूत उन्मूलन दिवसको अवसर पारेर गरिएको कार्यक्रममा केशव सोनामले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गर्दै टिप्पणीकार राजेश विद्रोहीले भने, ‘खासमा साहित्यमा दलितको मुद्दाबारे गहन अध्ययन भएको छैन । तर दलितका मुद्दाहरू अहिले मुखरित भएका छन् ।’ कार्यपत्रमा सोनामले पृथ्वीको उत्पत्तिदेखि मानव विकासक्रमलाई समेटेर साहित्यको विषयलाई जोड दिएका थिए । वैदिककालदेखि नै दलितको विषयमा साहित्य लेखिए पनि शूद्रको रूपमा व्याख्या गरी अपहेलित गरिएको कार्यपत्रको सार रहेको थियो । 

टिप्पणीकार विद्रोहीले भने, ‘खासमा साहित्यमा दलित मुद्दाको विषय थोरै मात्रै आएको छ । दलित मुद्दा साहित्यमा कसरी आइरहेका छन् त ? भन्ने विषय चाहिँ आउन सकेको छैन । गहन अध्ययन भएको छैन ।’ उनले साहित्यमा अहिले कविता, कथा, निबन्ध, उपन्यास सबै विधामा दलितका मुद्दाहरू आउन थालेको बताए । कार्यपत्रमा श्रममा गरिएको विविधताका कारण नै दलित निर्माण भएको सङ्क्षेपमा बताउन खोजिएको छ । कार्यपत्रमा साहित्यमा दलितको मुद्दा गैरदलितले पनि उठाउन थालेको सन्दर्भ ल्याइएको छ । ‘दलित साहित्यकारहरूले पनि दलितको आवाजलाई उठाउन थालेका छन्’–उनले कार्यपत्रको सारमा लेखेका छन् । 

कार्यपत्रपश्चात् दलित अभियन्ताहरूले विभिन्न विषयमा आफ्ना कुराहरू राखेका थिए । दलित अभियन्ता रमेश गजमेर, लीला शङ्कर, खगेन्द्र नेपाली लगायतले भनेका थिए, ‘धरान नगरका प्रमुखले दलित शब्द नै हटाउने भनेर अहिले दलितलाई कार्यक्रम नै दिनुभएको छैन । यो कार्यक्रम पनि धनपाको सामाजिक विकास महाशाखामार्फत भइरहेको छ । यो राम्रो विषय होइन ।’ 

अग्रज पत्रकार हर्ष सुब्बाले दलित शब्द हटाउँदा आरक्षणका विषय, राजनीतिक विषयहरू ओझेलमा पर्ने, बजेटहरूमा समस्या हुने बताए । उनले कार्यपत्र समग्रमा उत्कृष्ट आएको बताए । कार्यक्रमको प्रमुख अतिथि भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने रहेका थिए भने कार्यक्रमको सभापतित्वमा जमुना त्रिखत्रीले गरेकी थिइन् ।