इटहरी । २०७६ वैशाख १४ गते इटहरीको सङ्गीत चौकमा मध्यरातको १ बजे भीषण आगलागी भयो । आगलागीबाट ४ घर जले । करिब तीन करोड रुपैयाँभन्दा बढीको क्षति भयो । आगलागी नियन्त्रणका लागि इटहरीको दमकलसहित छिमकी नगरबाट आएका दमकललाई तीन घण्टा लागेको थियो । स्थानीय पदम अधिकारी, बालकुमार राई, विदेशीकुमार श्रेष्ठ र मनकुमारी राईको पसलसहित घर जलेर नष्ट भएको थियो । 

त्यही वर्षको कात्तिक २१ गते इटहरीको धरान रोडस्थित सप्तकोशी इलेक्ट्रोनिक्समा आगलागी भयो । जहाँ सात करोड रुपैयाँभन्दा बढीको क्षति भयो । इटहरीसहित अन्य छिमेकी नगरका दमकलको सहयोगमा तीन घण्टापश्चात् आगो नियन्त्रणमा लिइयो । २०७६ मै इटहरी पश्चिमलाइनस्थित सूर्य कम्प्लेक्समा आगलागी हुँदा पूर्व राष्ट्रिय फुटबल खेलाडी सुरेन्द्र तामाङ र इटहरीकै युवा किरण बुढाथोकीले सञ्चालनमा ल्याएको बिगबार रेष्टुरेन्ट जल्दा करिब पाँच करोड रुपैयाँको क्षति भयो । २०८० फागुन १९ गते इटहरी–६ कै बीपी चोकमा आगलागीमा परी एक महिलाको जलेर मृत्यु भयो । आगो लाग्नासाथ तत्काल उद्धार नहुँदा ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको थियो । 

२०७६ यता इटहरीको बीच बजार मानिने क्षेत्रमा ३१ वटा आगलागीका घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको तथ्याङ्क छ । बुधबार इटहरीको सेन्ट्रल प्लाजामा यो वर्षको भयानक आगलागी भयो । जहाँ ११ जनालाई उद्धार गर्नुप¥यो । यसअगि २०७५ मा पूर्वलाइनस्थित कपडा गोदाममा भीषण आगलागी भएको थियो । त्यो बेला ९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो । इटहरीमा बर्सेनि यस्ता ठूला खालका आगलागीका घटना भइरहेको छ । उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष जीवन पराजुलीले पर्याप्त उपकरण र स्रोतसाधन नहुँदा इटहरीले बर्सेनि क्षति बेहोर्दै आएको बताए । 

बहुतले भवनहरूमा आगलागी हुँदा तत्काल आगो नियन्त्रण गर्ने आवश्यकीय उपकरणको अभाव र क्षमतायुक्त उद्धार टोली नहुँदा समस्या देखिँदै आएको पराजुली बताउँछन् । प्लाजामा बुधबार आगलागी हुँदा इटहरीसहित धरान, विरानटगर, सुन्दरहरैँचा, रामधुनी, इनरुवाबाट दमकल आएका थिए । स्थानीय तहसँग आगो निभाउने आवश्यकीय उपकरण नरहेको पुष्टि भएको सेन्ट्रल प्लाजा सञ्चालक राजेश श्रेष्ठ बताउँछन् । इटहरीसँग हाल २ वटा दमकल र उउटा ‘रोड वासर कम स्प्रिङकलर’ सञ्चालनमा छ । दमकलबाट आगो नियन्त्रणमा आउन नसकेपछि विराटनगरबाट क्रेन मगाएर आगो निभाइएको थियो ।

सेन्ट्रल प्लाजामा भएको आगलागीको घटनाले कोशी प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ । कोशी सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले इटहरीमा मात्र नभई अन्य सहरमा पनि यस्तै आगलागी हुँदा उपकरण अभाव नहोस् भन्नका लागि सबै स्थानीय तहहरूमा सुविधायुक्त दमकलको व्यवस्था गर्न मुख्यमन्त्री तथा सङ्घीय सरकारसँग पनि माग गरिने बताए । इटहरीका प्रमुख हेमकर्ण पौडेलले अब बस्ने कार्यपालिका बैठकमा कम्तीमा ८ तलासम्मको आगो निभाउन सक्ने हाइड्रोलिक बारुणयन्त्र खरिदसम्बन्धी प्रस्ताव पेस गर्ने बताए ।