इटहरी । गत बुधबार इटहरी–६ की मेनुका कार्कीले ८ किलो आलु किनेकोमा पुनः जोख्दा ७ किलो ६ सय ५० ग्राम मात्रै पुग्यो । उपमहानगरको टोलीले बजार क्षेत्रको अनुगमन गरि उक्त आलु व्यापारीबाट प्रतिबन्धित ढक तराजु जफत गर्यो । बुधबार उपमहानगरको टोलीले बजार पसेर आलु तथा प्याज व्यापारीहरूको साथबाट ९ वटा ढक तराजुहरू जफत गरेको थियो । 

इटहरीमा आइतबार र बुधबार हाट लाग्ने गरेको छ । हाटबाट उपभोक्ताहरू नाप तौलमा ठगिने गरेको गुनासो बढेपछि उपमहानगरले आकस्मिक अनुगमन गरी प्रतिबन्धित ढक तराजु जफत गरेको उपमेयर सङ्गीता चौधरीले बताइन् । 

उपमहानगरमा मेनुका मात्र नभई उनी जस्ता एक दर्जनभन्दा बढी उपभोक्ताले मौखिक उजुरी गरेपछि टोली बजार पुगेको थियो । व्यापारीहरूले प्रयोगमा ल्याइरहेको फलामका ढक, तराजु मापदण्ड विपरीत रहेकाले तत्काल जफत गरिएको उपमेयर चौधरीले बताइन् । इटहरीको बजारमा केही व्यवसायीहरूले डोरीले बाँधेर ढुङ्गालाई ढक बनाएर उपभोक्ता ठग्ने गरेको पाइएको उनले बताइन् । अनुगमनको क्रममा तत्काल ढक, तराजु जफत गरे पनि व्यवसायीहरूलाई भने अन्तिम चेतावनी मात्र दिइएको उपमेयर चौधरीले बताइन् । 

विगत २०७२ चैत २२ देखि नेपालमा मापदण्ड विपरीतका ढक, तराजुको प्रयोग प्रतिबन्ध गरिएको छ । नियम बनाएर त्यसको कार्यान्वयन गराउने निकायहरूले त्यसतर्फ ध्यान नदिँदा अझै पनि बजारमा मापदण्ड विपरीतका ढक, तराजुहरू खुलेआम प्रयोग भइरहेको उपभोक्ताहरू बताउँछन् । डोरीले बाँधेका फलामका ढक, तराजुहरूलाई सरकारले प्रतिबन्ध लगाएको छ । त्यसको ठाउँमा डिजिटल तराजु प्रयोग गर्न सुझाव दिने गरेको छ । इटहरीको आइतबारे क्षेत्रमा रहेका अधिकांश सब्जी तथा किराना व्यापारीहरूले अझै पनि मापदण्ड विपरीतका ढक, तराजुहरू प्रयोगमा ल्याइरहेका छन् । 

पहिलादेखि नै ढक, तराजु मात्रै चलाइरहेकाले डिजिटल काँटा चलाउन नजान्ने केही व्यवसायीहरूको तर्क छ । इटहरी हटिया लाइनमा विगत ९ वर्षदेखि सब्जी व्यवसाय गर्दै आएकी मनिता क्षेत्री पहिलादेखि नै फलामको ढक, तराजु प्रयोग गर्दै आएको बताउँछिन् । यस्तो ढक, तराजुलाई सरकारले प्रतिबन्ध लगाएकोबारे आफूलाई जानकारी नभएको र आवश्यक परे डिजिटल काँटा प्रयोगमा ल्याउने पनि बताइन् । 

६ महिनामा ८९ वटा ढक तराजु जफत
इटहरी उपमहानगरका विभिन्न क्षेत्रबाट बजार अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामग्रीहरू नष्ट गर्ने अभियानसँगै मापदण्ड विपरीतका ढक, तराजु नियन्त्रणमा लिने गरेको अनुगमन अधिकृत नवल भट्टराईले बताए । अनुगमनकै क्रममा ६ महिनाको अवधिमा ८९ वटा त्यस्ता ढक, तराजुहरू नियन्त्रणमा लिइएको अधिकृत भट्टराईले बताए । 

यता गुणस्तर तथा नाप, तौल कार्यालय विराटनगरका प्रमुख शम्भु झाले भने बजार अनुगमनको बेला भेटिएका प्रतिबन्धित ढक, तराजुहरू तत्काल नियन्त्रणमा लिएर सम्बन्धित व्यक्तिलाई जरिबाना तिराइने गरिएको बताए ।