धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्ण खोपः सुरक्षित भविष्य, पूर्ण खोप सुनिश्चितता दिगोपन प्रतिबद्धता’ भन्ने नाराका साथ घोषणा गरेको हो ।
खोप समन्वय समिति तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले ब्यानर अनावरण गरे । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता बनाउनका लागि काम गर्ने जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी स्वयम्सेविका सबैलाई धन्यवाद दिए । आगामी दिनमा पूर्ण खोपयुक्त पालिका बनाउन निरन्तर काम गर्न आग्रह गर्दै सुनिश्चिततापछि दिगोपना ल्याउने गरी काम गर्नुपर्ने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विदुर गुरागाईंले सरकारले प्रदान गर्ने सम्पूर्ण खोप बालबालिकाले पाउन बञ्चित गराउन नहुने बताए । उनले सबै मापदण्ड पु¥याएर पालिकालाई पूर्ण खोप पालिका घोषणा गरेको बताए ।
सहिदभूमि गाउँपालिकाको सामाजिक विकास संयोजक तथा वडाध्यक्ष हेमकुमार राईले पालिकालाई निरोगी र स्वस्थ बनाउन लागिपर्ने बताए । पालिकाभर ०–५९ महिनाको ७ सय २५ जना बालबालिकाले खोप पाएका छन् । हाल ०–१५ महिना २ सय ६५ जना बालबालिका रहेको छ ।
खोप समन्वय समिति सदस्य तथा स्वास्थ्य शाखा प्रमुख फकिर मोहम्मदले प्रत्येक वडामा बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोप पालिका सुनिश्चितता घोषणा गरिएको जानकारी दिए । उनले खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई घोषणा गरिएको बताए । पालिकाले घोषणा गर्नुअघि घरधुरी सर्वेक्षण, पूर्ण खोप सुनिश्चितताको लागि प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मी पुगेको स्वास्थ्य शाखा प्रमुखले जानकारी दिए ।