धरान । सुनसरी भोक्राहानरसिंह गाउँपालिका–६ साहुटोलकी ३ वर्षीया नाबालिकाको करेन्ट लागी ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोही ठाउँका सुदीप साहको तीन वर्षीया नाबालिका छोरी चन्दा साह छिमेकी उपेन्द्र साहको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा करेन्ट लागी ज्यान गएको हो । खेल्ने क्रममा अचानक करेन्ट लागेपछि उनी बेहोस बनेकी थिइन् । तत्कालै उनलाई इनरुवास्थित जिल्ला अस्पतालमा उपचारका लागि ल्याइए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी चौकी चिरौलीचोकबाट प्रहरी खटिई आवश्यक कानूनी प्रक्रिया पूरा गरेको जनाएको छ । तर, मृत्यु भएको बच्चाको लास आफन्तले घर लान खोजेपछि प्रहरीले कानूनी प्रक्रिया पूरा गर्नुपर्छ भन्दा ३०–३५ जनाको समूह आई विवाद गरेको प्रहरीले जनाएको छ ।
केही समयपश्चात् आफन्तले कानूनी प्रक्रियाका लागि अनुमति दिएपछि समस्या समाधान भएको जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले आफन्तलाई शव जिम्मा लगाएको जनाएको छ ।