धरान । ३७ केजी गाँजसहित सुनसरीको धरान उपमहानगरपालिका ४ साराङचोकस्थित कोशी लोकमार्गमा दुईजनालाई पक्राउ गरेको छ । 

गोप्य सूचनाका आधारमा प्रहरीले शुक्रबार बिहानको राति ३७ केजी गाँजासहित कार चालक उदयपुर बेलका नगरपालिका ९ का २३ वर्षीय तीर्थ दर्जी र कारमा सवार सुनसरी वराहक्षेत्र नगरपालिका १ का ४० वर्षीय कृष्ण विसुङ्खेलाई नियन्त्रणमा लिइएको छ । 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूको कमान्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको ग.२ च ८११७ नम्बरको कारबाट गाँजा बरामद गरेको हो । उनीहरूसहित कार र गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीले पछिल्लो समयमा धरान १३ कृषि उपज बजार स्थलको छेउबाट ६ सय ९० केजी गाँजा बरामद गर्न सफल भएको थियो । त्यसयता धरान १७ बाट पनि गाँजा बरामद भएको थियो ।