वराहक्षेत्र । इलाका प्रहरी कार्यालय देवानगञ्ज र घुस्कीहाट प्रहरीको संयुक्त टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको छ ।
प्रहरीले हरिनगर गाउँपालिका–७ यादव टोलबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार देवानगञ्ज–२ का २० वर्षीय आलम अन्सारी र ४४ वर्षीय मञ्जुल मियाँलाई नियन्त्रणमा लिएको हो । उनीहरूले टेम्पोमा लैजाँदै गर्दा एक सय सात किलो ८ सय २० ग्राम गाँजा मङ्गलबार राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
देवानगञ्जबाट घुस्की हाटतर्फ जाँदै गरेको को. १ ह २२६१ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा प्लास्टिकको चारवटा बोरामा प्याक गरेको अवस्थामा गाँजा नियन्त्रणमा लिइएको उनले जानकारी दिए । पक्राउ गरिएका चालक अन्सारी र सह–चालक मञ्जुल दुवैलाई अटोसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।