देउराली । धरान उपमहानगरपालिका–५ स्थित अँधेरी खोलाको पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
२ वर्षमा बनिसक्नुपर्ने पुल ठेकेदार कम्पनीको चरम् लापरबाहीका कारण ५ वर्ष बितिसक्दा पनि अधुरै रहँदा स्थानीय जनप्रतिनिधहरूसमेत आजित बनेका छन् । ‘पुल निर्माण सुरु हुँदा विकास आयो भन्दै खुसी भएका थियौँ तर, समयमै नबन्दा सास्ती पाइरहेका छौँ’ स्थानीय पदम कार्कीले भने, ‘ताकेता गर्यो ३ दिन काम हुन्छ अनि काम रोकिन्छ, हामीले यति ताकेता गर्याँै कि भनेर साध्य छैन । ठेकेदारले कसैको कुरा सुन्दैन ।’ तीन पटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले पुल निर्माणको काम अझै करिब २५ प्रतिशत अधुरै राखेको कार्की बताउँछन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६ असार मसान्तमा पुल निर्माण गरिसक्ने गरी २०६४ असार २५ गते मृत सञ्जीवनी निर्माण सेवा–एचएम विल्डर्स प्रालि जेभीसँग ०७४ असार २५ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएसँगै पुल निर्माणका लागि ठेक्का सम्झौता गर्ने दुुई कम्पनीमध्ये इनरुवाका व्यवसायी हसबुल मियाँको कम्पनी एचएम विल्डर्सले नियमित काम नगर्नाले सास्ती खेप्नुपरेको उक्त पुल निर्माणकार्य हेर्ने जिम्मा पाएको सडक विभाग, पुल आयोजना अन्तर्गतको पुल सेक्टर धरानले जनाएको छ ।
१ सय २५ मिटर लम्बाइ र ११ मिटर चैडाइमा बन्दै गरेकाे पुलको पिल्लर र स्लाप ढलाइ भइसकेको छ भने ग्याबिन जाली आधा लगाइएको छ । एकातर्फ मात्रै एप्रोच स्लाप ढलाइ गरिएको पुलको स्लापको पिच, रेलिङ र फुटपाथको काम अझै बाँकी छ । स्लापको बिम लक गर्ने पिल्लरको दायाँ–बायाँ हुने ढलाइ पनि अधुरै रहेको छ । ठेकेदारले आर्थिक समस्या, कामदार अभाव, कोरोना र महँगीको कारण देखाउँदै निर्माण कार्यमा आलटाल गरिरहँदा तेस्रो पटक थपिएको म्याद पनि यही चैत मसान्तमा सकिँदैछ । पुल सेक्टर धरानका सिनियर इन्जिनियर प्रदीप भण्डारी भन्छन्, ‘सरासर काम गरे २० दिनको काम छ । तर, ठेकेदारले काम नै गरेको देखिएको छैन ।’
निर्माण सम्पन्न गर्न विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरेको भए पनि ठेकेदार मियाँले त्यसलाई गम्भीररूपमा नलिनाले समस्या देखिएका कार्यालय प्रमुखसमेत रहेका भण्डारीले बताए ।
दुर्घटनाको जोखिम
घरअगाडि पुल निर्माण हुँदै गरेको खुसीभन्दा पनि अर्धनिर्मित पुलबाट भएको सवारी आवागमनका कारण दुर्घटनाको जोखिम बढेको स्थानीय रिया श्रेष्ठ बताउँछिन् । बर्खामा पैदल यात्रु र मोटरसाइकललाई मात्र चल्न दिइएकोमा ठूला सवारीसाधन पनि चलेपछि दुर्घटनाको जोखिम बढेको श्रेष्ठले बताइन् । ‘केही दिनअघि मात्रै ठेकेदारकै टिपर दुर्घटना भयो, त्यो भन्दा अघि एउटा स्कुटर र टिपर दुर्घटना भयो’ श्रेष्ठले भनिन्, ‘यहाँ सामान्य दुर्घटना प्रायः भइरहेकै हुन्छ । ठूलो क्षति नभए पनि सामान्य घाइते हुने भइरहेको छ ।’
दुर्घटनाको जोखिमकै कारण धरान उपमहानगरपालिकाले निर्माणाधीन पुलको दुवैतर्फको सडकमा खाडल बनाएको भए पनि खाडल पुरेर पुनः सवारी साधन चलिदिनाले जोखिम अझै बढेको स्थानीय जसबहादुर लिम्बू बताउँछन् । ‘वडाले पनि पर्चा टाँसेको थियो । मोटरसाइकल दुर्घटना भएपछि नगरपालिकाले बाटोमा खाडल बनायो’ उनले थपे, ‘ सहायक बाटो साँघुरो छ । त्यही भएर पनि यहीँबाट हिँड्न चाहन्छन् गाडीहरू ।’ स्थानीय सरकारले बाटोमा खाडल खनेर सवारीसाधन छेक्नुभन्दा पनि पुल निर्माण सम्पन्न गर्न भूमिका खेल्नुपर्ने लिम्बूको भनाइ छ । उनी भन्छन्, ‘ठेकेदारलाई काम गर्न लगाउनुप¥यो, काम गरिराखेको ठाउँमा गाडी त कसैले कुदाउँदैन नि ।’
अटेरी ठेकेदार
धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले बुधबारमात्रै वडासदस्य र स्थानीयसहित आफै पुल सेक्टरको कार्यालय गएर चाँडै बनाउन आग्रह गरेको बताए । उनले भने, ‘कार्यालय प्रमुखले चैत मसान्तसम्ममा नसके ठेकेदार र ठेकेदार कम्पनीलाई कारबाही गर्ने बताउनुभएको छ ।’
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएदेखि नै पुलको अनुगमन गर्दै आएका वडाध्यक्ष लिम्बू ठेकेदारलाई छिटो काम सक्न भन्नुको कुनै अर्थ नरहने बताउँछन् । उनी भन्छन्, ‘१० महिनामा १० पटक ठेकेदारलाई भेटेर छिटो काम गर्नुपर्यो भनेँ तर, सुन्दै सुन्दैन ।’
ठेकेदारले वडाध्यक्षलाई मात्र होइन, धरान उपमहानगरपालिकाका नगरप्रमुखदेखि सांसद् र मन्त्रीलाई समेत नटेरेको स्थानीय जसबहादुर लिम्बू बताउँछन् । लिम्बू भन्छन्, ‘यहाँ कार्यवाहकसहित धरानका ३ वटै नगरप्रमुखले अनुगमन गरिसके । नेता, सांसद् र मन्त्री पनि अनुगमनमा आए, यो बीचमा ठेकेदारले अरू २–३ ठाउँमा ठेक्का पायो । तर, यो पुल निर्माण गरिसकेन ।’ जसबहादुरका अनुसार नगरप्रमुख हर्कराज राई, पूर्व नगरप्रमुख तिलक राई, पूर्व उपप्रमुख मञ्जु भण्डारी, पूर्व सङ्घीय सांसद् जयकुमार राई, पूर्व प्रदेश १ सभामुख प्रदीप भण्डारी र प्रदेशका एक मन्त्रीलगायत राजनीतिक दलका नेताहरूले अनुगमन गरी चाँडै सक्न निर्देशनसमेत दिएका थिए । नेता आउँदा समयमै काम सक्ने प्रतिबद्धता गरे पनि उनीहरू हिँडेलगत्तै ठेकेदार मियाँ पनि काम छाडेर हिँड्ने गरेकोे लिम्बूले बताए ।
पुल बन्दाबन्दै रड चोरी
चौकीदारसमेत नराखी ठेकेदारले काम अधुरै छाडेर हिँडिदिँदा रेलिङ निर्माणका लागि छाडिएका रड चोरी हुन थालेको छ । पुलको दायाँ–बायाँ रेलिङ निर्माणका लागि ढलाइबाट निकालेर राखिएका तीन दर्जन बढी रडहरू चोरी भएको स्थानीय कुमार मिश्र बताउँछन् । उनी भन्छन्, ‘रडहरू दैनिकजसो चोरी हुँदै गइरहेको छ, दिनमा भए त देखिन्थ्यो होला, राति कसले हेर्ने ?’ पुलको ग्याबिन जाली लगाउँदै आएका मिश्र ठेकेदार मियाँले पैसा नदिएका कारण काम रोकिएको बताउँछन् । अर्धनिर्मित संरचनाबाट रड चोरी हुँदा निर्माण सम्पन्न भए पनि त्यसको गुणस्तरमा शङ्का उत्पन्न हुने स्थानीय पदम कार्की बताउँछन् । उनी भन्छन्, ‘अर्धनिर्मित संरचनाबाट रड चोरी हुनथालेपछि त्यसको गुणस्तर के हुन्छ ? यस विषयमा स्थानीय सरकार र पुल सेक्टर गम्भीर हुनुपर्छ ।’
होला त कारबाही ?
पुल सेक्टर प्रमुख भण्डारी पुलको काम धेरै बाँकी भएकोले ठेकेदारलाई कारबाही प्रक्रियामा नगएको तर, दैनिकजसो गुनासो आउने गरेको बताउँछन् । उनी भन्छन्, ‘स्थानीय, वडाध्यक्ष, नगरप्रमुख, सांसद्देखि मन्त्रीसम्म सबैले चासो राखिराख्नुभएको छ । तर, काम एकदमै ढिलो भएको छ । अब पनि काममा नफर्किए हामी कारबाही प्रक्रियामा जान्छौं ।’
पुल सेक्टर धरानका इन्जिनियर नितिस झाले भने ठेकेदार मियाँले चैत मसान्तसम्ममा पनि उक्त पुल निर्माण सम्पन्न नगरे ठेक्का रकमको १० प्रतिशत क्षतिपूर्ति बुझाउनु पर्ने बताए । उनले भने, ‘स्लापमाथि हुने पिच चिसोका कारण रोकेको भनिएको छ । चैत मसान्तसम्ममा पनि नसके ठेकेदारले ठेक्का रकमको १० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्छ ।’
ठेकेदार मियाँ भने पुल सेक्टर कार्यालयको स्थापना ढिलो हुनु, कोरोना र त्यससँगै निर्माण सामग्रीको मूल्यमा भएकौ बढोत्तरीका कारण समयमै काम गर्न नसकिएको दाबी गर्छन् । उनी भन्छन्, ‘फागुन मसान्तभित्र निर्माण सम्पन्न भइसक्छ । विभिन्न कारणहरूले काम ढिलो भएको हो । अहिले पनि मूल्य वृद्धिबापतको रकम पाएको छैन । आर्थिक समस्या छ ।’ पुल सेक्टरका कम्प्युटर अपरेटर गोकर्ण अधिकारीका अनुसार ५ करोड ४८ लाख ९२ हजारमा ठेक्का सम्झौता भएको उक्त पुल निर्माण गरेबापत विभिन्न चरणमा ४ करोड बढी रकम ठेकेदार कम्पनीलाई भुक्तानी भइसकेको छ ।
सेउती पुलको म्याद थप गर्न निवेदन
ठेकेदार मियाँले नै निर्माण सुरु गरेको कोसी राजमार्गअन्तर्गतको सेउती खोलाको पुल निर्माण सम्पन्न गर्ने मिति समाप्त भइसक्दा एउटा पिल्लरसमेत निर्माण सम्पन्न भएको छैन । ठेक्का पाएसँगै काम सुरु गरिएको भए पनि अधुरै काम छाडेका मियाँले म्याद थपको निवेदन दिइसकेको विराटनगरस्थित छ लेन सडक कार्यालयका योजना प्रमुख धनकुमार शाक्यले बताए ।
उनका अनुसार २ वर्षभन्दा कम समयका लागि ठेक्का पाएको मियाँको कम्पनीले म्याद थपका लागी निवेदन दिएको भए पनि निवेदन प्रक्रियामा भने गइसकेको छैन । शाक्यका अनुसार निरन्तर काम भए २ महिनामै निर्माण सम्पन भइसक्ने उक्त पुल निर्माण सामग्रीको मूल्य वृद्धि भएको भन्दै ठेकेदार मियाँले रोकेका हुन् ।