विराटनगर । नेता जन्माउने थलोको रूपमा लिइएको मोरङको महेन्द्र मोरङ क्याम्पसमा यस पटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घको किल्ला भत्किएको छ । 

थुप्रै नेता जन्माएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा यस पटकको स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले बाजी मारेको हो । अखिल क्रान्तिकारीका रोहित यादव विजयी भए । बिहीबार सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रोहितले उनका प्रतिस्पर्धी नेविसङ्घका उम्मेदवार प्रज्वलजङ विष्टलाई ४३ मतले पराजित गर्दै स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । यादवले १ हजार १ सय १८ मत ल्याएर स्ववियु सभापतिमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेविसङ्घ उम्मेदवार विष्टले १ हजार ७५ मत प्राप्त गरे । नेपाली काङ्ग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले महेन्द्र मोरङ क्याम्पसलाई आफ्नो किल्लाको रूपमा हेर्ने गरेको थियो । 

तेस्रो स्थानमा रहेका अनेरास्ववियु उम्मेदवार अनिश बोगटीले २ सय ३२ मत प्राप्त गरे । महेन्द्र मोरङमा नेविसङ्घको डाक्टर शेखर कोइराला पक्षले योगराज दाहाललाई उम्मेदवार बनाएको थियो । दाहालले ६० मत प्राप्त गरे । कुनै समय नेता उत्पादन गर्ने थलोको रूपमा परिचित महेन्द्र मोरङमा यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए । त्यसबेला अखिल क्रान्तिकारीले अखिलसँग तालमेल गरेको थियो । यो पटक एक्लै चुनाव लडेर इतिहास रचेको अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यू यादवले बताए । 

०१२ सालमा स्थापना भएको महेन्द्र मोरङ क्याम्पसमा २०३६ सालमा पहिलो पटक स्ववियु निर्वाचन भएको थियो । त्यसबेला ध्रुवनारायण श्रेष्ठ स्ववियु सभापति भएका थिए । २०३८ सालमा स्ववियु विजयकुमार गच्छदारको समूहले कब्जा ग¥यो । पूर्वस्ववियु सभापति महेश रेग्मीका अनुसार २०३८ असोजमा भएको स्ववियु निर्वाचनमा सीताराम पोखरेलले जित्ने अवस्था थियो । तर मध्यरातमा मतपत्र जलाएर जबरजस्ती गच्छदारलाई सभापति घोषणा गरियो । तर उनले काम गर्न पाएनन् । २०४० मा भएको निर्वाचनमा सभापतिमा भरतराज पोखरेल निर्वाचित भए । पोखरेलकै समितिको कोषाध्यक्ष थिइन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । २०४१ सालमा स्ववियु सभापति रमेश भट्टराई निर्वाचित भए । २०४३ को स्ववियु सभापति भूराज राईले जितेका थिए । विराटनगरका पूर्वउपप्रधानपञ्च बनेका उनी पछिल्लो समय एमालेको राजनीतिमा छन् ।

२०४५ मा महेश रेग्मी निर्वाचित भए । उनले २०४९ सालसम्म सभापति चलाए । उनी नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्यूरो सदस्य छन् । २०४९ सालको निर्वाचनमा यदु विष्ट सभापति निर्वाचित भए । उनी नेपाली काङ्ग्रेसको राजनीतिमा छन् । विष्टपछि २०५१ सालको स्ववियु निर्वाचनमा गुरुराज घिमिरे निर्वाचित भए । उनी पनि नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिमा छन् । २०५३ सालमा ऋषिकेश पोखरेल निर्वाचित भए । एमाले सांसद् पोखरेल सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति हुन् । २०५५ सालमा उपेन्द्र गच्छदार निर्वाचित भए । उनी पछिल्लो समय सक्रिय राजनीतिमा छैनन् ।

२०५७ सालको निर्वाचनमा सागर थापाले सभापति जिते । उनी एमालेको वर्तमान जिल्ला उपाध्यक्ष हुन् । २०६२ सालको स्ववियु निर्वाचनमा भीम पराजुली निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पराजुली कोशी प्रदेशको वर्तमान सांसद् हुन् । २०६५ सालको स्ववियु निर्वाचनमा जयराम सुन्दास निर्वाचित भए । नेकपा (माओवादी केन्द्र) मा आबद्ध उनी राजनीतिमा कम र वकालत पेशामा बढी सक्रिय छन् । १४ वर्षपछि २०७९ साल भएको निर्वाचनमा जसवन्त पौडेल विजयी भएका थिए । २०८१ को स्ववियु निर्वाचनमा रोहित निर्वाचित भए ।

ऐतिहासिक जित
क्रान्तिकारीबाट स्ववियु सभापति जितेका यादव यसअघि पनि सभापतिको उम्मेदवार थिए । त्यसबेला उनी नेविसङ्घ उम्मेदवार जसवन्त पौडेलसँग पराजित भएका थिए । यो पटक पौडेलले नै उठाएका उम्मेदवारलाई पराजित गर्दै सभापति निर्वाचित भए । उनको जितलाई माओवादी केन्द्रका नेताहरूले ‘ऐतिहासिक’ उपलब्धि भएको दाबी गरेका छन् । मोरङमा निर्वाचन भएका ९ वटा क्याम्पसमध्ये अखिल क्रान्तिकारीले तीन आङ्गिकसहित पाँचवटा क्याम्पसमा जितेको छ । ३ वटामा नेविसङ्घ र २ वटामा अनेरास्ववियुले जितेका छन् ।

महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले त्रिवि आङ्गिक क्याम्पस डिग्री कलेज, नर्सिङ क्याम्पस, कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसको सभापति जितेको छ । रमाइलो बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिष कार्की, मिक्लाजुङ क्याम्पसमा क्रान्तिकारीका सुजन घिमिरेको प्यानलै, विराटनगरको डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रितम साहको प्यानलै र विराट नर्सिङ कलेजको अध्यक्षमा क्रान्तिकारीका रोहितकुमार ताजपुरिया निर्वाचित भए ।

केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा, सुकुना क्याम्पसको सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् । उर्लाबारी क्याम्पसको सभापतिमा नेविसङ्घका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसको सभापतिमा नेविसङ्घका केशर राई, लेटाङ क्याम्पसको सभापति नेविसङ्घका लेखनाथ दाहाल निर्वाचित भए ।