भद्रपुर । जनप्रतिनिधि, राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरूलाई समेत सामाजिक सञ्जालमा मनपरी अश्लील गाली गर्दै आएका झापाका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका–१ का २३ वर्षीय नितेश भनिने नवराज ओली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई चैत ३ गते काठमाडौँको सोह्रखुट्टेबाट पक्राउ गरी झापा ल्याएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

विदेशमा बसेर उनले झापाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतादेखि लिएर प्रहरी प्रशासन र पत्रकारहरूलाई समेत सामाजिक सञ्जालको दुरुपयोग गर्दै गालीगलौज गर्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप लगाउने गरेको उनले जनाए । 

नेपाल फर्केपछि उनलाई भेट्न हल्दीबारी–१ स्थित घरमा गत फागुन ३ गते प्रहरी टोली पुगेको थियो । प्रहरीलाई समेत उनले जथाभावी अश्लील गालीगलौज गरेका थिए । उनलाई उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित ओलीलाई जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । उनलाई फौजदारी अपराध संहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसूरमा मुद्दा चलाइने उनले जानकारी दिए ।