धरान/हङकङमा रहेका नेपालीहरूको संस्था एस अफ स्पेडस इन्टरटेनमेन्टले* आउँदो मे महिनाको ३ र ४ तारिखका दिन ‘नेपाल फेस्ट–२०२५ हङ्कङ’ नामक बृहत सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । 

बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाका सल्लाहकार अग्नि लिम्बूले भने, ‘हङकङमा बस्दै आएका नेपालीहरूलाई एकताबद्ध गराउन यो कार्यक्रम गर्न लागिएको हो ।’ उक्त कार्यक्रमका लागि नेपालबाट विभिन्न साङ्गीतिक ब्यान्डहरू पनि रहने उनले जानकारी दिए । मे ३ तारिखका दिन १९७४ एडी, रचना दाहाल र त्रिओ नो ट्रेब्ले ब्यान्ड तथा व्यक्तिगत रूपमा प्रस्तुति दिने भएको छ । 

यस्तै मे ४ का दिन सविन राई एन्ड द फ्यारो, अल्बाट्रोस, स्वर, तृष्णा गुरुङ एन्ड द कोल्याबको प्रस्तुति रहने उनले जानकारी दिए । दुई दिन हुने उक्त कार्यक्रममा सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिने भएको छ । उक्त कार्यक्रमका लागि नेपालबाट धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) जाने जनाइएको छ । उनी प्रमुख अतिथिका रूपमा रहने जनाइएको छ । सल्लाहकार लिम्बूका अनुसार उक्त संस्था हङकङ कानूनअनुसार सन् २०२१ मा दर्ता भएको हो । 

यस कार्यक्रमलाई धरान हङकङ मञ्चले पनि साथ सहयोग गरिरहेको छ । मञ्चका सल्लाकार नानीचन्द्र सिङ्घकले धरानको विकास र समृद्धिका लागि विभिन्न समयमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्दै आएको  हो । यो कार्यक्रमबाट धरानलाई केही आर्थिक सहयोग गरिने जनाइएको छ । धरान हङकङ मञ्चकै निमन्त्रणामा प्रमुख साम्पाङ हङकङ जान लागेका हुन् । 

*यसअगि धरान हङकङ मञ्चको संयुक्त आयोजना भएकोले उक्त कुरा सच्याइएको छ । सं.