धरान । कथाकार शुभचन्द्र राईको कथा सङ्ग्रह ‘समयले जन्माएका कथाहरू’ गृह नगर धरानमा बुधबार लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तिलक राई, भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने, नाट्यकर्मी गोपाल देवान, कथाकार राईले विमोचन गरे । कथाको समीक्षा गर्दै प्रा.डा. न्यौपानेले भने, ‘शुभचन्द्रका ७ वटा कथा पढ्दा भाषामा जनबोली रहेको छ । गाउँघरमा जे बोल्छौँ, त्यो यहाँ आएको छ ।’ उनले कथामा ग्रामीण परिवेश अधिकरूपमा आएको बताए । उनले कथा चाहिँ एक्कासि आरम्भ भई थाहै नपाई सकिनुपर्ने बताए । ‘उत्सुकता जाग्नुपर्छ । त्यो अलिक अभाव छ’–उनले भने ।
कृतिकार कृतिमार्फत् सिर्जनामार्फत् बाँच्ने बताए । अर्का समीक्षक गोपाल देवानले नेपाली साहित्यको क्षेत्रमा एउटा इँटा थप्न सफल भएको बताए । उनले शिल्पगत हिसाबमा निकै सशक्त रहेको बताए । ‘विचारगतरूपमा पनि सशक्त छ । यो एउटा समय र कालखण्डको कथा मात्रै होइन, सबै समय र कालखण्डको कथा हो’–उनले भने । कथामा उत्तरआधुनिकवादलाई स्वीकार गरिएको र भूइँमान्छेको कथाहरू ल्याएको उनले बताए । ‘सीमान्तकृत, किनारीकृतहरूका बिम्ब, मिथक र प्रतीकहरू आएका छन्’ –उनले भने । उनले परिवेश प्रस्तुत गर्ने शैली पनि एकदमै राम्रो रहेको बताए । उनले सत्यघटनालाई शिल्पविधानभित्र राख्नु चानचुने कुरा नभएको बताए । चरित्रचित्रण, परिवेश चित्रण अन्त्यन्तै राम्रो रहेको बताए । उनले यो सामाजिक यथार्थवादी कथाकै रूपमा रहेको औँल्याए ।
यस्तै कथा प्रकाशनमा सम्पादनको भूमिका निर्वाह गरेका पत्रकार गणेश राईले कथाकारको यसअघि पनि केही कविता सङ्ग्रहहरू प्रकाशन भइसकेको बताए । उनले कथाकारका यात्रा संस्मरणहरूबारे पनि जानकारी गराएका थिए । कथाकार राईले आफूले सत्य घटनालाई नै कथाको रूपमा उतारेको बताए । उनले कथा पढिदिएर सबैलाई सल्लाह सुझाव दिन अनुरोध गरे । ‘म साहित्यकार होइन, यसको सैद्धान्तिक पाटोबारे जानकारी छैन’ उनले भने, ‘मैले सत्य घटनालाई कथाको स्वरूपमा ढालेको हुँ ।’
हाल उनी वैदेशिक रोजगारीअन्तर्गत बेलायतमा छन् । किरात राई यायोक्खा सुनसरीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तिलक राईले भने, ‘शुभचन्द्रका कथाहरूमा गाउँका विषयहरू समेटिएका छन् । गाउँले जनजीवनलाई उतारेका छन् । वि.सं. २०५० पछिका जीवनहरूलाई कथामा अटाएका छन् ।’ किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।