सुनसरीको इटहरी–२० स्थित तरहराको सहिद स्मृति आवासीय विद्यालय केही दिनयता अशान्त छ । स्कुल प्रशासन र विद्यार्थीहरुको कुरामा तालमेल छैन । स्कुल प्रशासनले होली नखेल्न आग्रह गरिएको र विद्यार्थीहरुले वार्डेन तथा अध्यक्षको हुकुमी शैलीको विरोध गरेको बताउँदै आएका छन् । वार्डेनले स्कुल परिसरमै जाँड बनाई विद्यालय दुर्गन्धित बनाएको र अध्यक्षले अपमानजनक शब्द प्रयोग गरी विद्यार्थीहरुलाई दुव्र्यवहार गरेको भन्ने छ । विद्यार्थीको केही कुरामा सत्यता छ भन्ने विषय प्रधानाध्यापक रीता फुयाँलले आंशिकरुपमा स्वीकार पनि गरेको अवस्था छ । कुहिएर जाने भातलाई मर्चा (जाँड बनाउनका लागि प्रयोग गरिने जटिबुटीय औषधि) लगाउने गरेको भनी स्वीकारेकी छन् । यसले पनि केही सत्यता रहेको पुष्टि हुन्छ । विद्यालयमा विद्यार्थीमैत्री वातावरण सिर्जना गर्नु सबैको दायित्व हो । तर, वार्डेन सोमप्रसाद पुरीले जुन हर्कत गरेका छन्, त्यो विद्यालय तथा विद्यार्थीमैत्री गतिविधि होइन । विद्यालयमा विशुद्ध विद्यार्थीमैत्री काम गरिनु पर्छ । त्यसले विद्यालयको गरिमा र ओजलाई बढाउँछ ।
विद्यालय ज्ञानको स्रोत हो । ज्ञान लिने स्थल हो । यो स्थललाई शान्तिपूर्ण बनाउन तथा विद्यार्थीमैत्री बनाउन सबैले भूमिका खेल्नुपर्छ । विद्यालय व्यवस्थापन समिति, अभिभावक सङ्घ, प्रअ, शिक्षक, वार्डेन, विद्यार्थीहरु सबैले एक–अर्कामा होस्टेमा हैंसे नगर्ने हो भने विद्यालयको वातावरण बिग्रन सक्छ । विद्यार्थीहरुले पनि चाडपर्वको नाममा गलत गतिविधि र क्रियाकलापलाई प्रश्रय दिनु हुँदैन । विद्यालय ज्ञानको भण्डार भएकाले विद्यालयमा विशुद्ध अध्यापन तथा विद्यालयीय गतिविधि हुनुपर्छ । चाडका नाममा विद्यार्थीहरुलाई अराजक गतिविधि गर्ने छुट हुनु हुँदैन । विद्यालय परिसरभन्दा बाहिर मात्रै सामाजिक गतिविधिलाई मर्यादित ढङ्गले अगाडि बढाउनु पर्छ । हाम्रा संस्कृतिहरु मनाउने बहानामा जहाँ पायो, त्यहीँ मनाउनु अनुशासनभन्दा बाहिरको कार्य हो । विद्यार्थीहरुले अधिकारको कुरा गरिरहँदा आफ्नो कर्तव्यलाई पनि भुल्नु हुँदैन । समाजका विद्यार्थीहरुको कर्तव्य के हो ? त्यसलाई कसरी पूरा गर्ने भन्ने ज्ञान हामी शिक्षालयबाटै लिन्छौँ । अर्कोतिर विद्यालय सञ्चालकहरु, प्रअ तथा वार्डेनहरुले पनि आफ्नो भूमिका र कर्तव्यलाई भुल्नु हुँदैन । आफूलाई केन्द्रमा राखेर काम गर्दा त्यसले अरुको अधिकारलाई हानि पु¥याइरहेको हुनसक्छ । यतातिर पनि ध्यान दिनुपर्छ । यहाँ विद्यार्थीहरुको मात्रै गल्ती छैन, यहाँ वार्डेन, अध्यक्ष तथा प्रअले पनि ठीकसँग आफ्नो भूमिकालाई निर्वाह गरेको देखिँदैन । सबैतिरबाट त्रुटि भएको छ । यो त्रुटि सच्याउनु नै विकल्पहीन विकल्प हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले सादा कागजमा राजीनामा दिएको भनी बाहिर आएको छ । उनको राजीनामा साँचो हो÷होइन भन्ने विषयमा अहिले पनि खोजीको विषय हो । उनी आफूले कुनै राजीनामा पत्र नलेखेको दाबी गर्दै आएका छन् । तर, उनको हस्ताक्षर कसरी मिल्यो भन्ने विषय पनि छ । राजीनाको विषयभन्दा पनि यहाँ उनले जे जस्तो गल्ती गरेका छन्, त्यसप्रति आत्मालोचित हुनुपर्छ । धेरैले राजीनामाको विषयलाई ‘राजनीतीकरण’ को संज्ञा दिइरहेका छन् । उनले आफूले गरेको कमजोरीलाई चाहिँ कसरी सुधार्लान् ? त्यो चाहिँ महत्वपूर्ण कुरा हो । अर्कोतिर, यो घटनालाई प्रअ रीता फुयाँलले सामान्यीकरण गर्न खोजेको जस्तो देखिएको छ । घटनालाई सामान्यीकरण गर्नेभन्दा पनि विद्यार्थीहरुको भविष्यलाई हेरेर आजसम्म के कति गल्ती तथा कमी कमजोरी भए त्यसलाई चाहिँ सुधार गर्नुपर्ने देखिएको छ । वार्डेनको विषयमा खासै केही आएको छैन । प्रअ फुयाँलले वार्डेनको गतिविधिलाई थप मनोबल बढाएको जस्तो देखिन्छ । यस विषयमा पनि प्रअ फुयाँलले मन्थन गर्नुपर्ने बेला आएको छ । समस्याको सुरूवातमै समाधान गर्नु चाहिँ बुद्धिमानी हो । यसलाई कसैले पनि नदेखेको झैँ नगरौँ । समस्याको हल खोजौँ । ता कि भविष्यमा आउने खतरालाई बेलैमा टुङ्गो लागोस् ।