विराटनगर । मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगको हो । उपाधिको लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाइघाट र लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि लेटाङका सौगात राईले दुइ गोल, विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान १–१ गोल गरे । घरेलु टिम पेमाको तर्फबाट निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले समान १ –१ गोल गरे ।
खेल सुरु भएको ४ औं मिनेटमा पेमा स्पोर्टिङ क्लबका निशान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले ९ औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए । यो अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो । खेल सुरु भएको ९ औं मिनेटमा २–० गोलले लेटाङ पछि परेपछि आक्रमक खेल पस्कियो । त्यसपछि लेटाङका खेलाडी विवेक राईले खेलको २३ औ मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । खेलको ३२ औं मिनेटमा अनुप मगरले अर्को गोल गर्दै खेल बराबारीमा ल्याए ।
पहिलो हाफसम्म २–२ गोलको बराबारी भयो । दोस्रो हाफपछि लेटाङले आक्रमक खेल पस्कियो । खेलको ५७ औं मिनेटमा सन्दिप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए । किरण शंकरले खेलको ६५ औं मिनेटमा गोल गर्दै लेटाङले ४–३ गोलले अग्रता बनायो । ७० औं मिनेटमा सौगत राईले डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुमाए । त्यसलगतै पेमाका खेलाडी प्रनिश न्यौपानले गोल गर्दै ३–५ गोलले अग्रता घटाए । खेलको ७८ औं मिनेटमा लेटाङका सौगत राईले गोल गर्दै टिमको जित सुनिश्चत गरे ।
खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकर घोषित भए । उनले नगद २ हजार १ सय पाए । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता रहेको थियो ।