देउराली । धरान ५ स्थित बहु जातीय खेल मैदान नजिकै बनेको घर भत्काइएको छ ।
आज बिहान धरान उपमहानगरपालिबाट आएको टोलीले उक्त घर भत्काएको हो । अवैध रूपमा खोलाको उकास क्षेत्र ओगटेर बनाइएको भन्दै खेल मैदान नजिकै रहेको सनिबोटे तथा अधेरी खोलाको किनारामा बनेको अर्ध पक्की घर उपमहानगरको डाेजरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोलीले भत्काइएको हो ।
पूर्व वडाध्यक्ष सन्तोष लिम्बूसहित स्थानीयको विरोधका बावजुत भत्काइएको उक्त घर भत्काउने क्रममा सामान्य झडप भएको थियो । झडपमा स्थानीयले गरेको ढुङ्गा प्रहारबाट उपमहानगरपालिकाको डाेजरका सिसाहरू फुटेका छन् भने । झडपमा एक जना स्थानीय घाइते भएको बताइएको छ ।
पहिला देखिनै उक्त जग्गाको भोगचलन गर्दै आएको भन्दै स्थानियले खोलाको भाग सिमांकन गर्नुपर्ने पनि माग राखेका थिए । उनीहरूले नगर प्रमुख हर्कराज राई फिल्डमा आएर स्थानीयसँग छलफल गर्नुपर्ने समेत बताएका थिए ।
यस अघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरी सहितको टोली जेसीवी लिएर उक्त स्थानमा पुगेका थियो तर स्थानीयको विरोधका कारण घर नभत्काई फर्किएको थियो ।
उपनगरपालिकाले अवैध रूपमा अतिक्रमण गरेर घर नबनाउन भन्दै गत पुस १२ गते एक हप्ते नोटिस टाँसेर फर्किए पनि अटेर गरेर घर बनाएपछि पुस २९ गते भत्काउन भनेर डाेजरसहित नगर प्रहरीको टोली त्यहाँ पुगेको थियो । तर, घर भत्काउने आदेशको माग गर्दै स्थानीयले विरोध गरेपछि त्यहाँबाट फर्किएको थियो । उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले भने " यो तेस्रो पटक हो । हामीले बनाउन सुरु गरे देखिनै । नोटिस दिएका थियौँ । दोस्रो पटक जाँदा हामीले कागजी रूपमा तयार नभएकाले फर्कियौँ अहिले तयार भएरै गएका थियौ । "
यस अघि पनि घर भत्काउन उपमहानगरको टोली आएपछि घर नभत्काउन अन्तरिम आदेश माग गर्दै स्थानीय मुना चौधरी लिम्बू जिल्ला अदालत पुगे पनि अदालतले निवेदकले मागे अनुरूप अन्तरिम आदेश जारी गरिरहनु नपर्ने भन्दै बताएको छ ।
५ नम्बर वडा कार्यालयलाई विपक्षि बनाएर परेको निषेधाज्ञा मुद्दामा माघ ६ गते अधिवक्ता द्वय माधव प्रसाद कोइराला र प्रकाशराज ओझाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने भन्दै के कसो भएको हो रु निवेदकको माग बमोजिम आदेश जारी हुनु नपर्ने भए सो को आधार र कारण खुलाउन १५ दिनको म्याद सहित आदेश जारी गरेको छ ।
अदालतले जरी गरेको उक्त आदेशका बारेमा नगर प्रमुख साम्पाङलाई जानकारी गराएको र छलफलको लागी आग्रह समेत गरेको वडाध्यक्ष मनप्रसाद लिम्बूले बताए उनले भने "मैले मेयर सापलाई पत्र पनि देखाएको हो । छलफल गरौँ भनेको थिए । मलाई कैले डोजर लगाउने, लगाउनेकी नलगाउन भन्ने कुनै जानकारी नै थिएन । "
उनले उपमहानगरपालिकाले घर भत्काएसँगै केही स्थानियले आफ्नो घरमा गएर आक्रमण समेत गरेको बताए ।
उनले भने " म अस्पतालमा छु । मेरो घरमा गएर आक्रमण भएको भन्ने सुनिराखेको छु । ३ जनालाई घाइते बताएको छ रे । यो त अराजकता हो ।" उनले आफ्नो घरमा गएर आक्रमण गर्ने माथि कानुनी उपचार खोज्ने बताए ।