धरान /सुनसरीको धरानमा ‘ग्लोबल मनी विक’ को अवसर पारेर धरान बैङ्कर्स क्लबले शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।
धरानका ३० वटा बैङ्क तथा वित्तीय संस्थाहरु सम्मिलित क्लबले प्रभातफेरी आयोजना गरेको हो । प्रभातफेरी धरान –१० स्थित भाटभटेनी सुपरमार्केटबाट सुरु भएको ¥याली भानुचोक, छाताचोक हुँदै धरान उच्च, पृथ्वीपथ, पुरानो बजार, माछाभौडी, देशीलाइन हुँदै भानुचोकमा आई कोणसभामा परिणत भएको थियो ।
नेपाल राष्ट्र बैङ्क मातहत रहेका वाणिज्य बैङ्क, विकासबैङ्क, वित्तीय संस्था, शेयर बजार, बिमालगायत संस्थाहरुका प्रतिनिधि प्रभातफेरीमा सहभागी भएका थिए । विशेष गरी वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य रहेको कार्यक्रमका संयोजक रेवतीरमण नेपालले जानकारी दिए ।
यो हरेक वर्षको चैत ४ गतेदेखि चैत १० गतेसम्म आयोजना हुने गरेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहार गर्ने उद्देश्यका साथ कार्यक्रम गरिँदै आएको छ । क्लबकी अध्यक्ष पुनम साहका अनुसार धरानमा प्रभातफेरी कार्यक्रम गरी ग्लोबल मनी विक मनाइएको हो ।
उनका अनुसार क्लबमा वाणिज्य, विकासबैङ्क र वित्तीय संस्थाहरुको आबद्धता रहेको छ । यसैअन्तर्गत नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गरेको थियो ।
‘थिङ्क विफोर यु फलो, वाइज मनी टुमाउरो’ नाराका साथ यस वर्षको ग्लोबल मनी विक सुरु भएको हो । अर्गानिजेसन फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
तस्बिरहरु: ब्लाष्ट