भद्रपुर । व्यक्तिहरूको करोडाँै रकम ठगेर बिर्तामोडका एकजना व्यवसायी फरार भएका छन् ।

बिर्तामोड–४ स्थित आफ्नै घरमा मनकामना हार्डवेयर पसल सञ्चालन गर्दै आएका विक्की रौनियार करोडौँ रकम ठगी गरी फरार भएका हुन् । करिब दश दिनअघि घरमा ताला लगाएर सपरिवार बेपत्ता भएको पीडितहरूले बताएका छन् । धेरैजनाको रकम ठगेर रौनियार बेपत्ता भएको मनिशा शेखले बताइन् । रौनियारले आफ्नो ३ लाख १५ हजार र भिनाजु वासिफ शेखको २ लाख ८५ हजार रुपैयाँ ठगी गरेको शेखले बताइन् । उनले अन्य धेरै जनाको करोडौँ रकम ठगेर रौनियार बेपत्ता भएको जानकारी दिइन् । हार्डवेयर पसल सञ्चालन गरेको उनको घरजग्गा बैङ्कले लिलामी गर्न लागेको जनाइएको छ ।

रकम ठगी गरी रौनियार बेपत्ता भएको कुरा पीडितहरूले सार्वजनिक गरेका छन् । धेरै जनाको रकम ठगी गरी रौनियार भागेको कुरा जानकारी भए पनि प्रहरीकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए । हालसम्म कसैले पनि रौनियारका विषयमा उजुरी नपरेको उनले बताए । उनले केही दिनअघि रौनियारको खाली घरमा ताला तोडेको भन्ने सूचना पाएको बताए । चोरले हो वा अन्यले भन्ने विषय जानकारीमा नआएको उनको भनाइ छ ।

बिर्तामोडका व्यवसायी रौनियार ठगी गरी भागेको कुरा सुनेको भए पनि क–कसको के कति रकम डुबेको भनेर जानकारी नभएको स्थानीयले जनाएका छन् । रौनियारसँगै बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिङ्कका प्रोप्राइटर चूडामणि पौडेल पनि करोडौं रकम ठगी गरी बेपत्ता भएका छन् । गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित बेपत्ता भएका हुन् । बिर्तामोडमा प्रायः सबैले चिनेका पौडेल व्यावसायिक, सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगी गर्न सफल भएको स्थानीयले बताएका छन् । त्यस्तै करिब दुई अर्ब रकम ठगी गरी नरेन्द्र मैनाली पनि बेपत्ता भएको महिनौं भयो । जसका कारण बी एण्ड सी अस्पताल बिर्तामोडका संस्थापक महेन्द्र प्रसाईंले झुन्डिएर आत्महत्या गर्नुप¥यो । ऋण र हाइड्रोपावर कम्पनीमा लगानी गरी करिब ६ करोड रुपैयाँ डुबाएपछि त्यही पीरले प्रसाईंले मैनालीको घरमै गएर भदौ ७ गते आत्महत्या गरेको खुलेको थियो । प्रसाईंसँगै बिर्तामोड र आसपासका अन्य व्यवसायीको समेत दुई अर्ब रुपैयाँभन्दा बढी रकम लिएर फरार मैनाली काठमाडौंमा लुकेर बसेको आशङ्का गरिएको पीडितको आरोप छ ।

त्यस्तै भद्रपुर रोडमा ग्लोबल बुक्स एण्ड स्टेशनरी सञ्चालन गर्दै आएका नरेश शर्मा र हेयर एण्ड डर्मा केयर (कपाल उमार्ने) अस्पतालका सञ्चालक मनोराम चिमरिया करोडौं रकम अपचलन गरेर भागेको पीडितहरूले बताएका छन् । शर्माले व्यवसायीकै करोडौैं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने चिमरियाले धेरैजसो मिटरव्याज र वित्तीय संस्थाहरूबाट करोडौं रकम लिएको बुझिएको छ । शर्मा भारतको राजस्थानतिर भागेको आशङ्का गरिएको छ । आर्थिक कारोबार बिग्रिएपछि उनीहरू सम्पर्कविहीन छन् । शर्मा बिर्तामोडका पुराना स्टेशनरी व्यवसायी हुन् ।

त्यस्तै बिर्तामोड–२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएको करिव एक वर्ष भइसक्यो । पौडेल स्थानीयहरूको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् । पौडेलविरुद्ध पीडितहरुले मुद्दा दायर गरेका छन् । तर पनि उनी एक वर्षयता भेटिएका छैनन् । ५३ जना पीडितहरुको तीन करोड ७१ लाख रुपैयाँ ठगी गरेको सार्वजनिक गरेका छन् ।

त्यस्तै बिर्तामोड –५ मा व्यवसाय गरेर बसेका पङ्कज अग्रवाल पनि करोडौं रुपैयाँ ठगेर फरार छन् । साबिक मेचीका चार जिल्लामा उनले चामलको व्यापार गरिरहेका थिए । बिर्तामोडमा व्यवसाय गरी झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका क्षेत्रसम्म उनले कारोबार गरेका थिए । त्यस्तै बिर्तामोड–४का व्यवसायी अनिल अग्रवाल (रिङ्कु) पनि विभिन्न सहकारी, व्यवसायी तथा आफन्तको १० करोड रुपैयाँभन्दा बढी लिएर परिवारसहित वेपत्ता भएको वर्षौ भइसक्यो ।

यी बाहिर आएका ठूला ठगीका केही घटना मात्र हुन् । त्यसबाहेक बिर्तामोडमा अन्य धेरै ठगीका घटना भएका छन् । जुन सार्वजनिक भएको छैन । मिटरब्याजमा लगानी गर्ने अधिकांशको रकम डुबेको प्रहरीले जनाएको छ । छोटो समयमा करोडौँ कमाउने लालचमा एकले अर्कोलाई झुक्याएर ठगी गर्ने प्रवृति देखिएकाले आर्थिक कारोबारमा सचेत हुनुपर्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विष्ट बताउँछन् ।