धरान । श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आज (आइतबार) विराटनगरमा सुरु हँुदैछ । देशभरका करिब एक हजार प्रतिनिधि, पर्यवेक्षक, अतिथि विराटनगरमा भेला भएका छन् ।
तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको आइतबार ११ बजेपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको भए पनि अध्यक्ष ओली नआउने बताइएको छ ।
महाधिवेशनको लागि सबै तयारी पूरा भएको स्थानीय व्यवस्थापक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए । चौतारीको आगामी नेतृत्वका लागि उपाध्यक्षद्वय राजेश राई र गणेश पाण्डेले आकाङ्क्षा देखाएका छन् । दुवैले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदारी दाबीसमेत गरेका छन् । पार्टी नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्ने सङ्केत गरेको छ ।
तर पछिल्लो समय पार्टीले प्रचार सचिवमा जिम्मेवारी दिए पनि गणेश पाण्डे पनि मैदानमा रहेको बताएपछि निर्वाचन हुने सङ्केत देखिएको छ । स्रोतका अनुसार केही दिन अघिसम्म पाण्डेलाई पार्टीमा लगेर राजेश राईलाई अध्यक्ष बनाउने तयारी भए पनि पछिल्लो समय पार्टी अध्यक्ष केपी ओलीले अध्यक्षमा पाण्डे र महासचिवमा चेतन अधिकारीलाई लान प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, चौतारी अध्यक्ष गणेश बस्नेतलाई निर्देशन दिएको बताइएको छ । सोही अनुसारका समाचारसमेत आएका थिए ।
पार्टी नेतृत्वले पाण्डेलाई अध्यक्ष बनाउने सङ्केत गरेपछि राईले आफू अध्यक्षमा नछाड्ने अडान लिएका छन् । निर्वाचन प्रक्रियाबाट चयन हुने उनले दाबी गरे । लामो समयदेखि सङ्गठनमा काम गरेका राई सङ्गठनमा बौद्धिक र सालिन व्यक्तिको छवि बनाएका छन् । अधिकांश प्रतिनिधिहरूले राईको समर्थन गर्दै आएका छन् । प्रतिनिधिहरूको साथ र सपोर्टकै कारण आफू मैदानमा उत्रिएको उनको भनाइ छ । यता पाण्डेले आफूले लामो समयदेखि सङ्गठनमा काम गरेकाले आफ्नो दाबी रहेको बताउँदै आएका छन् ।