विजयपुर । धरान उपमहानगरपालिकाले धरानको खानेपानीको प्रमुख स्रोत रहेको सर्दु जलाधार क्षेत्रमै भाडामा लगाउनका लागि टहरा निर्माण गर्दैछ । जलाधार क्षेत्रमा मानवीय गतिविधि गर्न नमिल्नेमा नगरप्रमुख हर्कराज राईले मुख्य जलाधार क्षेत्रमै होटल सञ्चालनका लागि भाडामा दिने भन्दै टहरा निर्माण गरिरहेका छन् ।

धरान–१३ र २० मा पर्ने बीपी पार्कस्थित जलाधार क्षेत्रमा भएका अव्यवस्थित टहरा हटाई संरक्षण गर्नु पर्नेमा पक्की टहरा निर्माण गरिरहेका छन् । धरान उत्सवका अवसरमा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले ‘धरान–लेउती’ सुरुङ मार्ग निर्माणका लागि भौतिक पूर्वाधार विस्तृत अध्ययन गरिसकेको बताएका थिए । उनले धरानका लागि सुरुङ मार्ग महŒवपूर्ण योजना भएकाले बजेट व्यवस्थापन गर्ने बताएका थिए ।

लगत्तै नगरप्रमुख राईले जलाधार क्षेत्रमा असर नपर्ने गरी निर्माण गर्नुपर्ने धारणा राखेका थिए । तर, नगरप्रमुख राईले भने हाल आफै जलाधार क्षेत्रमा ११ वटा होटल सञ्चालन गर्न दिने गरी टहरा निर्माण गरिरहेका छन् । विकास निर्माणको कार्य गर्दा पनि जलाधार मासिने भन्ने धरान नगरप्रमुख राईले जलाधार क्षेत्रमा नै होटल सञ्चालनका लागि पक्की टहरा निर्माण गरिरहेका छन् । पक्की टहरा निर्माण गर्दा जलाधार क्षेत्रमा प्रतिकूल असर पर्ने विज्ञहरू बताउँछन् ।

धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले टहरा निर्माण भइरहेको जानकारी दिए । उनका अनुसार २४ लाख लागतमा निर्माण कार्य भइरहेको छ । उनले उपभोक्ता समिति गठन गरेर निर्माण कार्य भइरहेको बताए । उनले पुलभन्दा दक्षिणतिर जलाधार क्षेत्र नपर्ने दाबी गरे । तर, टहरा निर्माण भइरहेको स्थानदेखि दक्षिणतर्फका २ स्थानबाट ‘ट्यापिङ’ गरेर पानी ल्याइएको स्थानीय बताउँछन् ।

विगतमा अव्यवस्थितरूपमा रहेका टहरा हटाउनु पर्नेमा थप ढलाइ गरेर टहरा निर्माण गर्दा जलाधार क्षेत्रलाई प्रतिकूल असर पर्ने स्थानीयले बताए । ती स्थानीयले भने, ‘अस्थायी टहरामा खाजा नास्ता बिक्री वितरण गर्दा प्रदूषण भइरहेको थियो । नगरले हटाउनु पर्नेमा झन् ढलाइ गरेर टहरा निर्माण गरी होटल सञ्चालन गर्न दिने रे ।’ जाँड, रक्सी, चुरोटले जलाधार क्षेत्र प्रदूषित मात्रै नभई असुरक्षा पनि बढ्ने उनको भनाइ छ । 

धरान–१३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेले जलाधार क्षेत्रमा पक्की टहरा निर्माण गर्न नहुने बताए । ‘पहिले दाहसंस्कारस्थल बनाउँदा भत्काइएको थियो । जलाधार क्षेत्रमा निर्माण गर्न नमिल्ने हो’ उनले भने, ‘जलाधार क्षेत्रमा पक्की टहरा बनाइँदैछ भन्ने सुनेको छु । वडालाई सोधिएन ।’ उनले ओसो ध्यान केन्द्रसहित जलाधार क्षेत्रका सबै छाप्रा हटाउनुपर्ने बताए । उनले भने, ‘जलाधार क्षेत्रमा ओसो ध्यान केन्द्र नै नहुनु पर्ने हो ।’ वडाध्यक्ष काफ्लेले ३ वर्ष पहिले ५ लाख रुपैयाँ लागतमा जलाधारमा असर नपर्ने गरी जैविक विविधता÷बाल उद्यान बनाए पनि त्यसलाई भत्काएर टहरा बनाइएको उनले बताए । उनले नगरले व्यवस्थापन गर्न खोजेको वा के हो भन्ने विषयमा अनभिज्ञ रहेको बताए । उनले भने, ‘कुन समिति हो ? कसले गरेको हो ? थाहा छैन ।’

धरान–२० का अध्यक्ष पदमबहादुर लिम्बूले पनि सो बारे अनभिज्ञता प्रकट गरे । उनले आफू जनताका लागि निर्माणस्थलमा नै पुगेको बताए ।  धरान उपमहानगरका निवर्तमान नगरप्रमुख तिलक राईको कार्यकालमा विवादकाबीच निर्माण गरिएको शौचालय हालसम्म सञ्चालनमा आएको छैन । नगरप्रमुख हर्कराज राईले जलाधार क्षेत्रमा असर पर्ने भन्दै सञ्चालन नगरेको स्थानीयले बताएका छन् ।