सुनसरी । अघिल्लो वर्ष विवादित बनेको सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा आयोजित बर्जु महोत्सवमा पुनः विवाद भएको छ ।
मङ्गलबार चर्चित भोजपुरी कलाकार खेसारीलाल यादव आएपछि हजारौंको भीड लागेको थियो । सोही क्रममा विवाद उत्पन्न हुँदा सुरक्षार्थ खटिएका तीनजना प्रहरीसहित दर्शक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले भोजपुरी कलाकार आएपछि बर्जु महोत्सवमा २५ हजार बढी मान्छेको भीड हुँदा विवाद उत्पन्न भएको बताए ।
अपेक्षाभन्दा बढी दर्शकको उपस्थिति भएपछि आयोजकले महोत्सवस्थलमा पस्न नदिएपछि सामान्य विवाद भएको उनको दाबी छ । उनले भीडलाई रोक्न खोज्दा दर्शकको आक्रमणबाट दुहबी दङ्गाबाट सुरक्षा गर्न महोत्सवमा खटिएका तीनजना प्रहरी घाइते भएको पुष्टि गरेका छन् ।
प्रवक्ता राईले दिएको जानकारीअनुसार दर्शकको आक्रमणबाट प्रहरी हवल्दार सञ्जय यादव, सहायक प्रहरी हवल्दार सन्तोषकुमार यादव र प्रहरी जवान निरज देवान घाइते भएका छन् । उनले महोत्सवमा दर्शकको आक्रमणबाट तीनजना प्रहरी घाइते भएको बताए पनि अन्य के कति दर्शक घाइते भएको भन्ने यकिन हुन नसकेको बताए । उक्त महोत्सवमा सुरक्षार्थ ५ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालित थिए ।
घटनास्थलबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार घाइतेको विवरण प्राप्त हुन बाँकी रहेको बताउँदै डिएसपी राईले एक वा दुईजना दर्शक घाइते भएको दाबी गरे । यद्यपि प्रत्यक्षदर्शी भने आधा दर्जन बढी दर्शक घाइते भएको बताएका छन् । घटनास्थलमा रिपोर्टिङ गर्न पुगेका स्थानीय पत्रकार जुगेश दासले भोजपुरी कलाकार आउने भएपछि आयोजकले प्रवेश शुल्कमा मनोमानी गरेपछि विवाद उत्पन्न भएको जानकारी दिए ।
सुरु–सुरुमा प्रवेश शुल्क १ सय रुपैँया आयोजकले तोके पनि मङ्गलबार एक्कासि ५ सय रुपैयाँ बनाइएपछि आयोजकसँग रुष्ट भएका स्थानीय र प्रहरीबीच झडप भएको उनको भनाइ छ ।
सोही झडपका क्रममा महोत्सवमा भारतीय कलाकारलाई हेर्न गएका हासिम अन्सारीको टाउकोमा चोट लागेको छ भने सीताराम महतो, रन्जित मेहतालगायत घाइते भएको बताइएको छ । गतवर्ष पनि सोही ठाउँमा खेसारीलालको कार्यक्रम हेर्न आएकाबीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शकहरू घाइते भएका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गतवर्ष आयोजित तेस्रो बर्जु महोत्सवमा विवाद भएपछि यसवर्ष चौथो बर्जु महोत्सव आयोजना गर्न अनुमति नदिएको बताएका छन् । उनले बर्जु गाउँपालिकाका जनप्रतिनिधिले पर्यटन प्रवद्र्धन गर्ने भन्दै आयोजकसँग समन्वय गरेर चौथो बर्जु महोत्सव आयोजना गरेको बताए ।
अघिल्लो वर्ष कलाकार नआएपछि कार्यक्रम हेर्न पुगेका दर्शकले आगजनी गरेको बताउँदै प्रजिअ यादवले यसपटक भने टिकट नपाएपछि केही व्यक्तिले विवाद सिर्जना गरेको बताए । भारतीय भोजपुरी कलाकार नआएपछि अघिल्लो वर्ष हजारौंको सङ्ख्यामा जम्मा भएको भीडले भारतीय नम्बर प्लेटका चारवटा स्कारपियो गाडी र मोटरसाइकलमा आगजनी गरेका थिए ।
त्यस्तै उनीहरूले स्टेज, कुर्सीहरू, बाजागाजासमेत तोडफोड गरेका थिए । अघिल्लो वर्ष भएको आगजनीको घटनापश्चात् आयोजक समितिले नै कलाकार खेसारीलाल यादवलाई क्षतिपूर्ति दिएको उनको भनाइ छ ।