विजयपुर । धरान–१७ स्थित फोकल्याण्ड टापुदक्षिण कुम्भीआहालमा हात्तीले क्षति गर्न थालेको छ । हात्तीले क्षति गरे पनि प्रशासनको सहयोग नपाएको स्थानीयले गुनासो गरेका छन् ।
१५ दिनको अवधिमा हात्ती ३ पटक बस्तीमा प्रवेश गरी क्षति गर्दै आएको छ । हालसम्म पटक–पटक गरेर हात्तीले करिब ५–६ लाख रुपैयाँ बराबरको क्षति गरिसकेको स्थानीयले बताएका छन् । कुम्भीआहालका स्थानीय तथा जय कर्मयोगी फर्मका सञ्चालक सुरज बरालले पनि हात्तीले १५–२० वटा फर्ममा क्षति पुर्याएको बताए । उनले हात्ती बस्ती प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको क्षति गरिसकेको बताए । उनले हप्ता दिनअघि ५–६ वटा हात्तीको समूह आएर फर्म भत्काएको बताए ।
मङ्गलबार पनि २ वटा हात्ती बस्तीमा प्रवेश गरेर आतङ्क मच्चाएका थिए । अर्का स्थानीय इमि फर्म हाउसका सञ्चालक चित्र लिम्बूले हात्तीले पटक–पटक बस्तीमा पसी क्षति गरेको बताए ।
हात्ती बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछि ज्यान बचाउन स्थानीयवासी बस्ती नै छाडेर सुत्न अन्तै जाने गरेका छन् । सञ्चालक बरालले भने, ‘राति निन्द्रा पाउँदैनौँ, धेरै त सुत्न बाहिर जान्छन्, आफ्नो लगानी परेको छ । छोडेर जान सकिँदैन ।’ हात्तीले बस्तीमा प्रवेश गरी आतङ्क मच्चाए पनि प्रशासनको सहयोग भने नपाएको स्थानीयको गुनासो छ । स्थानीय सुरजले भने, ‘हामीलाई प्रशासनले सहयोग गरेन । २ जना प्रहरी आउँछन् । हामीजस्तै रमिते बनेर जान्छन् । हामी असुरक्षित भयौँ ।’
इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराईले सो क्षेत्रमा बुधबार नै सुरक्षा व्यवस्था मिलाएको बताए । उनले नगरप्रमुख, वन कार्यालयसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएको बताए । उनले भने, ‘नगरप्रमुख र वडाध्यक्षलाई राखेर समाधान गर्न पहल गरेको छु । सशस्त्र प्रहरीलाई पठाएका छौँ ।’ उनले स्थानीयलाई पनि हात्ती खेद्ने प्रयास नगर्न आग्रह गरेको बताए ।
उनले हात्तीलाई खेद्दा इगो लिने बताए । क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा क्षतिको विवरण पठाउने पनि उनले बताए । उनले हात्ती स्थानीयलाई दुःख दिन नभएर आफ्नो स्थान खोज्दै आएको बताए । उनले भने, ‘हात्ती पहिलेको आफ्नो स्थान खोज्दै आयो । अहिले बस्ती भएको छ ।’ यता स्थानीयले भने हालसम्म कतैबाट सुरक्षा नपाएको बताएका छन् ।