धरान । नेपालमा भएका आन्तरिक तथा वाह्य विमान दुर्घटनाको आँकडा हेर्दा हालसम्मकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी पोखरामा आइतबार विमान दुर्घटनाग्रस्त भएको छ ।

चार चालकदलसहित ७२ जना यात्रु बोकेर काठमाडौँबाट पोखराका लागि उडान भरेको यती एयरको एएनसी एटीआर ७२ नामक विमान दुर्घटनाग्रस्त भएको हो । हालसम्म ६९ जनाको शव फेला परेको छ । जसमा विदेशी नागरिकसहित नेपाली नागरिकहरू यात्रारत थिए । नेपालमा यसअगि सन् २०१८ को मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस बाङ्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो ।

त्यसबेला ५१ जना यात्रुको ज्यान गएको थियो । यतिको सङ्ख्यामा नेपालमा दुर्घटनाग्रस्त भएको यो नै पहिलो विमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । गतवर्षको मेमा पनि पोखराबाट मुस्ताङका लागि उडान भरेको तारा एयरको विमान दुर्घटनाग्रस्त हुँदा २२ जनाको ज्यान गएको थियो । नेपालमा उडानका हिसाबले निकै जोखिम रहेको मानिन्छ । काठमाडौँबाट पोखराको दूरी करिब २ सय किलोमिटर रहेको छ ।

पोखरा महानगरपालिका १५ नम्बर वडास्थित सेतीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शी ८७ वर्षीय बबरजङ गुरुङका अनुसार आइतबार बिहान करिब ११ बजेतिर एक्कासि जहाज घरको छतलाई छुने गरी उत्तरतर्फबाट कोल्टिँदै आएको र हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँसघारीमा ठूलो आवाजसहित बजारिएको थियो । उनले आफ्नो आँखाअगाडि यस्तो दुर्घटना कहिल्यै नदेखेको राष्ट्रिय समाचार समिति (रासस) का संवाददातालाई बताएका थिए । उनले भनेका छन्, ‘जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर, आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै नयाँगाउँको खोँचमा विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा पर्ने यतीको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यती एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडान भरेका थिए । उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा, सृजना होङ्चुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अष्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चार चालक दलका सदस्य रहेका थिए ।

आज सार्वजनिक बिदा
सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज (सोमबार)सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आज (माघ २ गते सोमबार) सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना
यती एयरलाइन्सको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाका बारेमा जानकारी लिन दुईवटा टेलिफोनमार्फत् कल सेन्टर स्थापना गरिएको बताए ।

उक्त कल सेन्टरमा यती एयरलाइन्सका तर्फबाट पेम्बा शेर्पा (९८०१००७५३१) तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका तर्फबाट ०१–४११३१६३ नम्बरका फोनहरू राखिएका छन् । आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको विषयमा आवश्यक सबै सूचना एकै ठाउँबाट दिने गरी कल सेन्टर स्थापना गर्ने निर्णय गरेसँगै विमानस्थलमा कल सेन्टर स्थापना गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । यता यती एयरलाइन्सले आज (सोमबार) का आफ्ना सबै उडान स्थगित गरेको छ ।

पाँच सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे सत्य–तथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरू दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । आयोगका सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा र हवाई मर्मत इञ्जिनियर एकराजजङ थापा छन् । आयोगको सदस्य–सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।