धरान/कुमार लिङ्देन नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राष्ट्रिय जनमुक्ति पार्टीको एकताको प्रस्तावलाई के गर्लान् भन्ने प्रश्न फेरि एकपटक कार्यकर्तामाझ चर्चाको विषय बनेको छ ।
२०७५ मङ्सिरमा पनि जनमुक्ति पार्टीले एकताको प्रस्ताव लगेको थियो । उक्त प्रस्तावमा लिङ्देनले कुनै औपचारिक जवाफ नदिएको जनमुक्ति पार्टीका नेताहरू बताउँछन् । जनमुक्ति पार्टीले दुई दिनअगि मात्रै फेरि एकताको प्रस्ताव पठाएको छ । पार्टी अध्यक्ष केपी पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एकताको प्रस्ताव गरिएको छ । यस विषयमा अध्यक्ष पालुङ्वालाई ब्लाष्टकर्मीले बुझ्दा एकताको प्रस्ताव गरिएको बताए । उनले भने, ‘दुई दिनअगाडि एकताको प्रस्तावको औपचारिक पत्र पठाएको छु ।’
उनका अनुसार औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव यो दोस्रो पटक हो । उनले भने, ‘२०७५ मङ्सिरमा पनि एकताका लागि प्रस्ताव गरिएको थियो, त्यो बेला कुनै जवाफ आएन ।’ तत्कालीन समयमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष विशेन्द्र चेम्जोङसँग छलफल चलेको थियो । हाल उनी मञ्च छाडेर माओवादीमा प्रवेश गरिसकेका छन् ।
‘पार्टीले एकताको लागि संस्थागत प्रयास गरेका छौँ’ अध्यक्ष पालुङ्वाले भने, ‘यसै त भन्न सकिएन । सकारात्मक सोच, समय र परिस्थितको मागअनुसार एकता गर्नुहुन्छ भन्ने आशा छ ।’ एकताको प्रयास गर्नुमा नेपाली राजनीतिमा देखिएको वर्तमान अवस्था रहेको उनको भनाइ छ । सत्ताका लागि राजनीतिक दलहरूले जे पनि गर्ने रहेछन् भन्ने भाष्य निर्माण भइरहेकाले देशको सङ्घीयता, धर्मनिरपेक्षता, गणतन्त्र गुम्ने खतरा भएकाले पनि एकीकरणको प्रयास थालिएको उनले बताए ।
जनमुक्तिले पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीको संयोजकत्वमा वार्ताकार्यदल गठन गरेको पत्रमा उल्लेख छ । यता लिङ्देन नेतृत्वको दोस्रो स्तरका नेताहरू भने एकताका लागि सहमत देखिएका छन् । अध्यक्ष लिङ्देनलाई यसविषयमा फोन सम्पर्क गर्दा फोन उठेन । दोस्रो स्तरका एक नेताले भने, ‘अहिलेको विषम परिस्थितिमा पहिचानवादी शक्तिहरू एक ठाउँमा आउनुपर्छ । यो वर्तमान समयको माग पनि हो । अध्यक्षज्यू यसमा सकारात्मक हुनुहुन्छ भन्ने हाम्रो बुझाइ हो ।’
उनका अनुसार मुलुक खतरामा पुग्दै गरेको अवस्थामा पहिचानवादी शक्तिहरू सदनमा नभएको अवस्थामा सडकबाटै आन्दोलन गर्न आवश्यक छ । यता पार्टीका महासचिव अशोक चेम्जोङले पार्टी एकताको पक्षमै आफूहरू रहेकाले सोहीअनुसार पार्टीभित्र संवाद तथा छलफल भइरहेको बताए । उनले फोनसम्पर्कमा भने, ‘पार्टी एकताकै पक्षमा छौँ । एकता जनमुक्तिसँग मात्रै नभई पहिचानवादी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने हो ।’
यसअगि जनमुक्तिले गरेको प्रस्तावको विषयमा प्रष्ट पार्दै भने, ‘त्यो बेला चुनावको मुखैमा थियो । सकारात्मक छलफल पनि भएन । यो पटक चाहिँ एकताको प्रस्तावलाई सबैले सकारात्मक लिनुभएको छ । पार्टी अध्यक्ष चाहिँ असहमत जस्तो देखिनुहुन्छ । उहाँ चाहिँ एक्ला एक्लै जानुपर्छ भन्ने पक्षमा हुनुहुन्छ ।’
उनका अनुसार लक्ष्य र एजेन्डा मिल्ने दलहरूसँग एकीकरण गरेर जानुपर्छ भन्ने सवालमा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको नेतृत्वमा एक वर्षअगाडि नै समिति बनेको छ । पहिचानलाई स्थापित गराउनका लागि पनि सङ्कीर्ण सोचबाट माथि उठ्नुपर्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।
अहिले जनमुक्ति पार्टी भने पहिचानवादी शक्तिहरूसँग एकीकरणको अभ्यासमा लागेको छ । अध्यक्ष पालुङ्वाले थपे, ‘अनौपचारिक रूपमा जसपासँग पनि संवाद भइरहेको छ । अन्य पहिचानवादी शक्तिसँग पनि छलफलमै छौँ ।’ उनका अनुसार रुकमणि चौधरी नेतृत्वको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, सञ्जुहाङ पालुङ्वाको सङ्घीय लिम्बुवान पार्टी नेपाल, भानुराम थारू नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीसँग पनि संवादमै रहेका छौ ।