तेह्रथुम/पर्यटनलाई आकर्षित गर्नका लागि जिल्लाका विभिन्न ठाउँमा धमाधम फरक–फरक प्रकृति र पहिचान झल्काउने स्तम्भहरू निर्माण भइरहेका छन् । पाउनाहरूलाई आर्कषित गर्न जिल्लाका विभिन्न भागमा पहिचानसँग जोडिएका स्तम्भ निर्माण भएका हुन् ।
[caption id="attachment_38611" align="alignnone" width="1500"]
पर्यटकीय क्षेत्र लालिगुराँस नगरपालिकाको वसन्तपुर, लसुने, घुर्मिसे, आठराई गाउँपालिकाको सङ्क्रान्तिबजार, छातेढुङ्गा र म्याङ्लुङ नगरपालिकामा ऐतिहासिकता बोकेका स्थान झल्काउने स्तम्भहरू निर्माण गरिएको हो ।
लालीगुराँस नगरपालिकाको वसन्तपुरमा फुलिरहेको गुराँसको रुख, लसुनेमा लसुनको पोटी, घुर्मिसेको जङ्गलमा आरआर गार्डेन नाम दिएर बाघ, छेपारो, गोही, खरायो, मृग, सीताको सारी सिकाउने ठाउँ, आठराईको सक्रान्तिबजारमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक, छातेढुङ्गामा ढुङ्गाको छाता र जिल्ला सदरमुकामको बसपार्कमा बिरालोको स्तम्भ बनाइएको छ ।
स्थानीय क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने चलन बढ्दो छ । तेह्रथुमको प्रवेशद्वार चित्रे बजारबाट अगाडि लागेपछि स्थान पहिचानका स्तम्भहरू एकपछि अर्को सहरका चोकचोकमा देख्न पाइन्छ । छथर गाउँपालिकाले प्रधानमन्त्री पार्क निर्माणको लागि यस वर्षदेखि काम शुरू गर्ने भएको छ । २८ प्रजातिका गुराँस फुल्ने गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ । स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर सदावहार फुलिरहेको गुराँसमा रमाउन थालेको स्थानीय बजारबासीको भनाइ छ । स्थानीय बासिन्दाले रकम सङ्कलन गरी स्तम्भ बनाएका हुन् । गुराँसभूमि यही क्षेत्रबाट शुरू भएको झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको वसन्तपूरका स्थानीय युवा छिरिङ्ग लामाले बताए । लालीगुराँस नगरपालिकाकै लसुने बजारको बीचभागमा लसुनको पोटी आकारको आकर्षक स्तम्भ निर्माण गरिएको छ । यो बजारमा आइपुग्ने जोकोही पनि लसुनको पोटीसँगै उभिएर तस्वीर खिच्न लालायित हुन्छन् । स्थानीय किसानले लसुन खेती लगाएर बेच्न ल्याउने ठाउँमा बजार विकास भएपछि बजारको नाम नै लसुने बजार राखिएको तीनजुरे माध्यमिक विद्यालय, फिर्केका पूर्व शिक्षक ज्ञानबहादुर कार्कीको भनाइ छ । आठराई गाउँपालिकाको केन्द्र सङ्क्रान्तिबजारमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्णकदको शालिक निर्माण गरिएको छ । किराँत धर्मावलम्बीहरूको बाहुल्यता रहेको यस क्षेत्रमा किराँत धर्मका महागुरु फाल्गुनन्दको शालिक बनाइएको स्थानीय व्यवसायी चुडामणि बरालले बताए ।
साविक छातेढुङ्गा गाविसमा छाताको ढुङ्गा निर्माण गरिएको छ ।
सदरमुकाम म्याङलुङमा पनि ऐतिहासिकता झल्काउन बिरालो स्तम्भ निर्माण गरिएको छ । म्याङलुङको पुरानो नाम मेयङ्लुङ भएको स्थानीयहरू बताउँछन् । लिम्बू भाषामा मेयङ भनेको बिरालो र लुङ भनेको ढुङ्गा भन्ने अर्थ लाग्छ । यसकोे ऐतिहासिकता बिरालोसँग सम्बन्धित रहेकाले बिरालोको स्तम्भ निर्माण गरेर पर्यटक आकर्षित गर्न लागिएको लिम्बू जातीय संस्था किराँत याक्थुङ्ग चुम्लुङ्ग, तेह्रथुमका अध्यक्ष गणेश सेनेले बताए ।
मेन्छ्यायेम गाउँपालिकामा रहेको ऐतिहासिक मेन्छ्यायेम ढापमा (मेन्छ्या) महिलाको प्रतीक शिरसहितको सालिक निर्माण गर्न लागिएको किराँत याक्थुङ्ग चुम्लुङ्ग, तेह्रथुमका सचिव तेजमान कन्दङ्वाले बताए । लिम्बू भेषभुषामा सजिएको उक्त शालिक निर्माणका लागि प्रदेश नं. १ बाट १५ लाख रकम विनियोजनसमेत भएको सचिव कन्दङ्वाले जानकारी दिए ।
फरक–फरक समयमा यी बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे अनुमान लगाउन सहज होस् र उनीहरूलाई आकर्षित पनि गर्न सकियोस् भन्ने उद्देश्यले यस्ता स्तम्भहरू निर्माण भइरहेका छन् । बेमौसममा पनि आन्तरिक तथा बाह्यपर्यटकलाई आकर्षित गरिरहन स्थानीयबासीले यस्तो फरक शैली अपनाएको हुन सक्ने भन्दै स्थानीय सरकारले यी लगायत जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण र सम्वद्र्धनमा चासो दिनुपर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
१) म्याङलुङ्ग नगरपालिकाको सिंहवाहिनी मन्दिरमा बनाएको विरालो । २) आठराई गाउँपालिकाको छातेढुङ्गामा रहेका छाता आकारका ढुङ्गा । ३) आठराई गाउँपालिकाको सक्रान्ति बजारमा रहेको फाल्गुनन्द लिङ्देनको सालिक । ४) म्याङलुङ्ग नगरपालिकाको बसपार्कमा रहेको विरालोको स्तम्भ । ५) लालिगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको लालिगुराँसको स्तम्भ । ६) लालिगुराँस नगरपालिकाको लसुनेमा रहेको लसुनको स्तम्भ ।