विजयपुर । धरान उपमहानगरका प्रमुख हर्कराज राईका स्वकीय सचिव सुदर्शन लिम्बूले क्षेत्राधिकार नाघेर वडाध्यक्षहरूलाई पत्राचार गरेपछि कार्यपालिका बैठक प्रभावित बनेको छ ।

बुधबार तय भएको चौधौं बैठकमा वडाध्यक्षहरूले प्रमुख राईका स्वकीय सचिव लिम्बूले माफी माग्नुपर्ने अडान राखेपछि बैठक बस्न नसकी प्रभावित बनेको हो । सोमबार नगरप्रमुख राईका स्वकीय सचिव लिम्बूले क्षेत्राधिकारभित्र नपर्ने काम गरी वडा कार्यालयहरूलाई विभिन्न योजना तथा कार्यक्रमको सूची पठाउनू भन्दै निर्देशनात्मक पत्राचार गरेका थिए ।

पत्राचारको विषयलाई लिएर वडाध्यक्षले स्पष्टीकरण माग गरेपछि कार्यपालिका बैठकको कार्यसूचीमा प्रवेश नै गर्न सकेन । कार्यपालिका बैठकमा वडाअध्यक्षहरूले प्रमुखका स्वकीय सचिव लिम्बूले क्षेत्राधिकार नाघेर पत्रचार गरेकाले माफी माग्न वा कारबाही गर्न प्रमुख राईलाई आग्रह गरे । नगरप्रमुख राईले आफ्नै निर्देशनमा सचिव लिम्बूले पत्राचार गरेकाले माफी माग्नु नपर्ने धारणा राखेपछि बैठक प्रभावित बनेको हो । धरान उपमहानगरका प्रवक्तासमेत रहेका वडा नं. १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले स्वकीय सचिवले गर्ने कार्यहरू कार्यपालिकाबाट नै पारित गरेको विषय सम्झाएका थिए । उनले भने, ‘स्वकीय सचिवबाट पत्र पठाउनुभयो । हामी कार्यालय सहायकको हस्ताक्षरबाट जवाफ पठाउँछौँ ।’ उनले नगर प्रमुख वा स्वकीय सचिव लिम्बूले माफी नमागे कानूनीरूपमा पनि अघि बढ्नुपर्ने बताए । ब्लाष्टसँग कुरा गर्दै प्रवक्ता भट्टराईले भने, ‘हामीले स्थगित गरौं भनेका थिएनौं । प्रमुखले नै स्थगित गर्नुभयो ।’

धरान–१० का अध्यक्ष विवेक राईले निजी सचिवले पठाएको पत्रको जवाफ नपठाउने बताए । उनले प्रमुखको स्वकीय सचिव निजी कर्मचारी नभएको बताए । उनले भने, ‘म विवरण पठाउँदिन ।’ धरान–१८ अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण) ले प्रक्रियाअनुसार विवरण माग गर्नुपर्ने बताए । उनले भने, ‘पहिलो पटक पठाएको पत्रका चलानी नम्बर छैन । दोस्रो पत्रमा छाप (स्ट्याम्प) छैन ।’ उनले नीतिगतरूपमा पठाएमा एक घण्टामा विवरण पठाउने बताए । धरान–१६ का अध्यक्ष मुरारी भट्टराईले पत्रले वडाध्यक्षहरूको मानमर्दन भएको बताए । उनले काम गर्दै जाँदा कानूनी त्रुटि भएको बताउँदै भने, ‘गल्ती गर्नेले स्वीकार्ने क्षमता पनि हुनुुपर्छ ।’

वडाध्यक्षहरू माफी माग्नुपर्ने वा कारबाही गर्नुपर्ने अडान राखेपछि नगरप्रमुख राईले कारबाही गर्ने बताउँदै बैठक स्थगित गर्ने घोषणा गरे । त्यपछि नगरप्रमुख राईले उपमहानगरका वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले सचिवालयबाट पत्राचार गर्न सुझाएको बताए । नगरप्रमुख राईले यसबारे प्रतिक्रिया दिँदै भने, ‘गणेश खतिवडाबाट कारबाही सुरु गर्छु ।’

खतिवडाले प्रमुख राईसँग सचिवालयबाट पत्र पठाउनेबारे कुरा भए पनि हस्ताक्षरको विषयमा कुरा नभएको बताए । उनले भने, ‘सचिवालयबाट गर्न सकिन्छ भनेको थिएँ । हस्ताक्षर कसको राख्ने भन्ने कुरा भएको होइन ।’ पत्र तयार गरेर ल्याएको भए कसले हस्ताक्षर गर्ने बताउने उनको भनाइ थियो ।

धरान–१५ का अध्यक्ष नरेश इवारमले स्थानीय सरकार प्रमुखले कर्मचारीलाई कारबाही गर्दा परिणामको पनि जिम्मा लिनुपर्ने बताए । उनले भने, ‘संयमित भएर काम गर्नुपर्छ ।’ अधिवक्ता जयराम सुन्दासले नगरप्रमुखका स्वकीय सचिवले लेटरप्याडमा हस्ताक्षर गर्नु दुरुपयोग भएको बताए । उनले भने, ‘सचिवालयले कार्यसम्पादन गर्छ । हस्ताक्षर नगरप्रमुखले नै गर्नुपर्छ ।’ उनले सार्वजनिक संस्था भएकाले आधिकारिक व्यक्तिले नै हस्ताक्षर गर्नुपर्ने बताए । उनले भने, ‘सरकारी कागजजात कीर्तेमा मुद्दा लाग्न सक्छ ।’