सुनसरी (ब्लाष्ट) सडक डिभिजन कार्यालय विराटनगरलाई अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाउन चुनौती देखिएको छ ।

पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि इटहरी सडक–खण्डको अस्थायी संरचना हटाउने निर्णय गरे पनि कार्यान्वयनमा चुनौती देखिएको छ । सडक डिभिजन कार्यालय विराटनगरले २०७७ साल फागुन १३ गते सूचना प्रकाशित गर्दै राजमार्गको कोसी ब्यारेजदेखि इटहरी सडक–खण्डको क्षेत्राधिकार सडकको बीच क्षेत्रबाट २५–२५ मिटर रहेको हुँदा सो क्षेत्रलाई अतिक्रमण गरी बनाएका घर टहरा तथा अस्थायी संरचनाहरू १५ दिनभित्र हटाउन सूचना प्रकाशित गरेको थियो । यद्यपि उक्त निर्णय कार्यान्वयन गराउन निकै चुनौतीपूर्ण देखिएको सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर सन्तोष यादव बताउँछन् ।

कोसी ब्यारेजदेखि इटहरी सडक–खण्डमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाउन आफूहरूले पटक–पटक सूचना प्रकाशित गर्दै जानकारी गराए पनि निर्णय कार्यान्वयन गराउन चुनौतीपूर्ण देखिएको उनको भनाइ छ । ‘पछिल्लो समय राजमार्ग क्षेत्रमा रहेको सडक डिभिजन कार्यालयको खाली जग्गामा अतिक्रमण गर्नेहरू बढेपछि अतिक्रमण हटाउने निर्णय गरेका हौं’ इन्जिनियर यादवले भने, ‘भएका अतिक्रमण हटाउँदै भावी दिनमा थप हुनसक्ने सम्भावित अतिक्रमण हुन नदिन सो निर्णय गरिएको हो । यद्यपि पटक–पटक ताकेता गर्दा  पनि अतिक्रमण हटाउन नसकिएको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ । सडक डिभिजन कार्यालयको सूचना कार्यान्वयनमा चुनौती देखिएपछि स्थानीय तहको सहयोगमा अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिइरहेको इन्जिनियर यादवले जानकारी दिए ।

उनका अनुसार इटहरी उपमहानगरपालिका क्षेत्रको उत्तर–दक्षिण र इनरुवा नगरपालिकाको बजार क्षेत्रमा बढी अतिक्रमण गरिएको छ् । जसमध्ये इटहरी उपमहानगरपालिकाको सहयोगमा इटहरी गोल चोकदेखि विराटनगर लाइनमा गरिएको अतिक्रमण हटाउने कार्य भइरहेको उनले बताए । यता इनरुवा नगरपालिका क्षेत्रमा गरिएको अतिक्रमण हटाउन सहयोग गर्न नगरपालिकाको कार्यालयलाई आग्रह गरिएको इन्जिनियर यादवको भनाइ छ । ‘इटहरी उपमहानगरको उत्तर–दक्षिण क्षेत्र र इनरुवा बजारक्षेत्रमा बढी मात्रामा अतिक्रमण भएको पाइन्छ’ उनले भने, ‘इटहरीको अतिक्रमण हटाउने काम भइरहेकोे छ भने इनरुवा क्षेत्रमा गरिएको अतिक्रमण हटाउन हामीले इनरुवा नगरपालिकासँग सहयोग मागेका छौं ।’ सडक डिभिजन कार्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घर, टहरा हटाउन अटेरी गरेमा कानूनअनुसार हटाइने बताइएको छ ।